गाजा युद्ध अन्त्य र बन्धक रिहाइको माग गर्दै इजरायलमा विशाल प्रदर्शन

 गाजा युद्ध अन्त्य गर्न र हमासले बन्धक बनाएकाहरूको रिहाइका लागि इजरायलमा हजारौँ मानिसहरूले प्रदर्शन गरेका छन् ।

आइतबार तेल अभिभको ‘होस्टेजेस स्क्वायर’ मा सबैभन्दा ठुलो भीड देखिएको थियो । प्रदर्शनका आयोजकहरूका अनुसार सरकारले गाजा सहरमाथि नियन्त्रण गर्ने योजना बनाएकाले हमासको कब्जामा रहेका करिब २० जना बन्धकहरूको जीवन जोखिममा परेको छ ।

बृहत् प्रदर्शनको एक भागको रूपमा एक दिने राष्ट्रिय हडताल पनि गरिएको थियो, जसका कारण केही क्षेत्रमा सडक, कार्यालय र विश्वविद्यालयहरू बन्द रहे । दिनभरको प्रदर्शनका क्रममा करिब ४० जनालाई पक्राउ गरिएको थियो ।

यो राष्ट्रिय हडताल बन्धकका परिवार र युद्धको विस्तारको विरोध गर्ने अन्य समूहहरूको मागमा गरिएको थियो।इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले प्रदर्शनको आलोचना गर्दै यसले ‘हमासको अडानलाई अझ कठोर बनाउने’ र बन्धकहरूको रिहाइलाई ढिलो मात्र गर्ने बताएका छन् ।