भारतको जम्मू-कश्मिरको किस्तवाडमा भीषण वर्षापछि आएको बाढीमा परी ४६ जनाको मृत्यु भएको छ ।
बिहिबार दिउँसो बादल फाटेर भीषण वर्षा (क्लाउडब्रस्ट) भएपछि किस्तवाडको दुर्गम गाउँ चसोतीमा आएको बाढीमा ४६ जनाको मृत्यु भएको स्रोतले जनाएको छ । मृत्यु हुनेमा दुई जना केन्द्रीय औद्योगिक सुरक्षा बल (सिआइएसएफ)का जवानसमेत छन् ।
दिउँसो करिब १ बजे चसोतीमा अकास्मात आएको बाढीले त्यहाँ रहेका घर, पसल, एक सुरक्षा चौकी र तीर्थयात्रीहरूका लागि बनाइएको सामुदायिक भान्सा बगाएको छ । चसोती हुँदै प्रसिद्ध धार्मिक तीर्थस्थल मचैल माता मन्दिर जाने धेरै तीर्थयात्रीहरू बाढीमा परेका छन् । बाढी पहिरोमा परेका १६७ जनाको उद्धार भएको छ ।
तीमध्ये ३८ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । राष्ट्रिय विपद् प्रतिक्रिया बल, राज्य विपद् प्रतिक्रिया बल, भारतीय सेना, प्रहरी र स्थानीय स्वयंसेवकहरूको संयुक्त टोलीले रातभरि उद्धार कार्य जारी राखेको थियो ।
खोजी तथा उद्धारका लागि १२ वटा एक्स्काभेटर प्रयोग गरिएको छ । नागरिक र तीर्थयात्रीहरूलाई सहयोग गर्न जिल्लाभरि कन्ट्रोल रुम र हेल्प डेस्क स्थापना गरिएको छ ।





