थाइल्यान्ड र कम्बोडियाबीचको सीमामा जारी तनावपूर्ण अवस्था थप खतरनाक मोडमा पुगेको छ ।
कम्बोडियाका अधिकारीहरूले शनिबार जानकारी दिएअनुसार सीमामा भएको झडपका कारण थप १२ जनाको मृत्यु भएको छ । हालसम्म दुवै देशमा कुल ३२ जनाको मृत्यु भइसकेको स्रोतले जनाएको छ ।
मृतकहरूमा सैनिकहरूका साथै सर्वसाधारण पनि छन् । १३० जना घाइते भएका छन् ।झडपका कारण दुवै देशका सीमावर्ती क्षेत्रबाट हजारौँ मानिसलाई सुरक्षित स्थानमा शरण लिनुपरेको बताइएको छ ।
थाइल्यान्डको स्वास्थ्य मन्त्रालयका अनुसार ५८ हजारभन्दा बढी मानिस प्रभावित जिल्लाहरूबाट निकालिएका छन् । कम्बोडियाका अधिकारीहरूले करिब २३ हजार मानिस आफ्नो घर छोड्न बाध्य भएको बताएका छन् ।




