टर्किएमा जङ्गलको आगो निभाउने क्रममा दश अग्निनियन्त्रकको मृत्यु

टर्किएको मध्य प्रान्त एस्किसेहिरमा लागेको जङ्गलको आगो निभाउने क्रममा दश जना अग्निनियन्त्रकको मृत्यु भएको छ। यो घटनामा अन्य १४ जना घाइते भएका छन्, जसको अस्पतालमा उपचार भइरहेको छ।

टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेका छन्। आन्तरिक मन्त्री अली येर्लिकायाका अनुसार, पश्चिमी र मध्य प्रान्तहरू साकार्या, अन्टाल्या, एस्किसेहिर, बिलेसिक र डेनिजलीमा अग्निनियन्त्रक टोलीहरू आगो निभाउने प्रयास गरिरहेका छन्।

कृषि तथा वनमन्त्री इब्राहिम युमाक्लीले यस वर्षको सुरुदेखि अहिलेसम्म आगलागीको सङ्ख्या ४ हजार नाघिसकेको जानकारी दिएका छन्, जसमध्ये १ हजार ७ सय २८ वटा वन क्षेत्रमा लागेका छन्।