कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो संख्याका कागहरूमा बर्डफ्लु संक्रमित भएको पुष्टि भएको छ । कीर्तिपुर नगरपालिका तथा पशु स्वास्थ्य विभागको संयुक्त टोलीले त्रिवि परिसरमा मृत फेला परेका ६८ वटा काग सङ्कलन गरी मंगलबार पुरेको छ ।
‘त्यहाँ अझै मरेका काग भेटिएका छन्, मरेका सबै काग हिजो संकलन गर्न नसकिएकाले आज पनि काम जारी राख्ने छौं,’ नगरपालिकाकी पशुसेवा प्रमुख सुशीला गैरेले भनिन् । उनका अनुसार शाखामा एक साताअघि स्थानीय व्यक्तिले त्रिविको वीरेन्द्र राज्याभिषेक उद्यानमा कागहरू मरेको खबर गरेका थिए ।
प्रमुख गैरेका अनुसार परीक्षणका लागि १० वटा मृत काग पशुसेवा विभागको प्रयोगशालामा पठाइएको थियो । प्रयोगशालामा परीक्षण गरेपछि ती कागमा बर्डफ्लु पुष्टि भएको हो । त्यसपछि नगरपालिका र पशुसेवा विभागका टोलीले आज मरेका काग संकलन गर्ने निर्णय गरेको थियो ।
साथै सोही स्थानमा अन्य पंक्षी मृत भेटिएमा सोको नमूना संकलन गर्न निर्देशन पनि टोलीलाई दिइएको थियो । सोहीअनुसार हिजोदेखि मृत काग संकलन गर्न थालिएको थियो । आज संकलन गरिएका ६४ वटा काग खाल्डो खनी गाडिएको छ ।
उद्यानमा अन्य चरा भने त्यसरी मरेको नभेटिएको प्रमुख गैरेले बताइन् । ‘खुला स्थानमा जताततै उड्ने पंक्षी भएकाले कुखुरामा देखिने बर्डफ्लुभन्दा यसको नियन्त्रण जटिल हुन्छ,’ उनले भनिन् । उनकाअनुसार कीर्तिपुर नगरपालिका क्षेत्रमा कुखुराका दाना ओसारपसार नगर्न सार्वजनिक सूचनासमेत जारी गरेको छ ।
पशुसेवा विभागका वरिष्ठ पशु चिकित्सक मुकुल उपाध्यायले मृत कागमा एचफाइ एन वान र एच नाइन गरी दुवै खालको बर्डफ्लु भाइरस देखिएको जानकारी दिए । डुलुवा पंक्षीमा पर्ने कागमा फिरन्ते चराबाट बर्डफ्लु संक्रमण भएको हुनसक्ने उनको अनुमान छ । केही वर्षअघि राजधानीस्थित बेलायती राजदूतावास परिसरमा पनि यसै गरेर कागमा संक्रमण देखिएको जानकारी पनि उनले दिए ।
यस्तो समस्या विभिन्न समयमा देखिने बताउँदै उपाध्यायले त्यसले अरु चरालाई सार्ने जोखिम पनि उत्तिकै रहेको समेत बताए ।
संक्रमण भयो भन्दैमा अन्यत्रका पनि कागलाई खोजी खोजी मार्ने जस्ता काम भने गर्न नहुने भनाइ उनको छ । साथै मरेका कुखुरा बंगुरलाई खुवाउने वा कुन स्रोतबाट आएको भन्ने थाहा नभइ सस्तो पाएकै भरमा कुखुराको मासु उपभोग नगर्न पनि उनले आग्रह गरे ।





