तनहुँमा एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको छ । भिमाद नगरपालिका–२ का ८० वर्षीय पुरुषमा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको हो ।
नयाँ मेडिकल कलेज चितवनमा परीक्षण गर्दा ती वृद्धमा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय तनहुँका सूचना अधिकारी सुदीप कँडेलले जानकारी दिए। ती वृद्धमा जापानिज इन्सेफलाइटिस सङ्क्रमण देखिएपछि कार्यालयले रोगको सम्पर्क परीक्षण तथा जनचेतना कार्यक्रम गरेको छ । कार्यालय प्रमुख अमर दवाडीको नेतृत्वमा उक्त वडामा पुगेर स्थानीयवासीको सम्पर्क परीक्षण गरिएको कँडेलले जानकारी दिए ।
जापानिज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्ने र मस्तिष्कमा सङ्क्रमण हुने रोग हो । यसले सङ्क्रमितको स्नायु प्रणालीलाई अङ्भङ्ग बनाउनुका साथै बिरामीको मृत्युसमेत हुने स्वास्थ्यकर्मी बताउँछन् ।