वीरगञ्जमा हैजा रोक्न खटाइयो २६ वटा टोली, विद्यालय बन्द

मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्जमा हैजा संक्रमण फैलिएपछि नियन्त्रण र रोकथामका लागि संघ, प्रदेश र स्थानीय सरकारहरूले दतारुकता देखाएका छन् ।  

जिल्ला स्वास्थ्य सङ्कट व्यवस्थापन समिति पर्साको बैठकमा हैजा सङ्क्रमण नियन्त्रण र रोकथामका लागि संयुक्त रूपमा काम गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारका प्रतिनिधिहरूले प्रतिबद्धता व्यक्त गरेका छन्  । मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सत्रुघनप्रसाद सिंहले महामारीप्रति प्रदेश सरकार गम्भीर रहेको बताए । उनले सङ्घीय स्वास्थ्यमन्त्री प्रदीप पौडेलसँग निरन्तर समन्वय भइरहेको र प्रभावित क्षेत्रमा स्रोतसाधन र जनशक्तिको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

‘बिरामीको उपचारमा कुनै कमी हुन दिँदैनौँ । औषधि, उपकरण र जनशक्ति जे चाहिन्छ, मधेस सरकार उपलब्ध गराउन तयार छ’, मन्त्री सिंहले भने ।

उनले नारायणी अस्पतालमा आवश्यक औषधि र स्वास्थ्य सामग्री उपलब्ध गराइसकिएको र चिकित्सकसहित झन्डै एक दर्जन स्वास्थ्यकर्मीको टोली वीरगञ्जम परिचालन गरिएको जानकारी पनि दिए । 

प्रदेश सरकारले नारायणी अस्पतालमा १० जना मेडिकल अफिसर, १० जना प्यारामेडिकल कर्मचारी र केही स्टाफ नर्स पठाएको छ । मन्त्रालयका सचिव डा. ओमप्रसाद अर्यालले आवश्यकताअनुसार, थप औषधि र जनशक्ति उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले सङ्क्रमण पुष्टि भएलगत्तै सम्पूर्ण सम्बन्धित निकाय परिचालन गरी महानगरपालिकाको टिम उपचार र रोकथाममा जुटेको बताए ।

प्रभावित क्षेत्रका नालाहरूमा रहेका खानेपानीका पाइप व्यवस्थापनको काम आइतबारबाट नै सुरु भइसकेको उनले जानकारी दिए । सबैभन्दा बढी प्रभावित वडा नम्बर १२ बाट पाइप व्यवस्थापन सुरु गरिएको छ ।