सर्लाही अस्पतालको सेवा बन्द

सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालका चिकित्सकमाथि हातपात भएपछि ओपिडी बाहेकका सेवा बन्द गरिएको छ ।

चिकित्सकमाथि हातपात भएको विषयलाई लिएर हिजो मङ्गलवारदेखि नै अस्पतालमा ओपिडी सेवा बन्द गरिएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जीव सिंहले दोषीमाथि कानुनी कारबाहीको माग गर्दै अस्पतालको आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको जानकारी दिनुभयो ।

अस्पतालमा हड्डी भाँचिएर उपचारमा लागि आएका एक जना बिरामीलाई अन्यत्र रेफर गर्ने विषयलाई लिएर अस्ति सोमबार राति बिरामीका आफन्तले अस्पतालमा कार्यरत अर्थोपेडिक डा. कृष्णजंग साहमाथि हातपात गरेका थिए । डा. साहमाथि हातपात गर्नेलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै अस्पतालमा कार्यरत चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीले २ दिनदेखि आकस्मिकबाहेकका सेवा ठप्प पारेका हुन् ।

नेपाल चिकित्सक सङ्घ प्रदेश समितिले प्रेस विज्ञप्ति जारी गरी चिकित्सकमाथि हातपात गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेको छ । मलंगवा अस्पतालको ओपिडी सेवा ठप्प हुँदा अस्पतालमा उपचारका लागि आएका बिरामीहरूले सेवा नपाउँदा मारमा परेका छन् ।