नसर्ने रोगविरुद्धको ‘स्क्रिनिङ’ अभियान सफल बनाउन मन्त्री पौडेलको अनुरोध

काठमाडौँ, फाल्गुन १ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुविरुद्ध निरोधात्मक विधि प्रवर्द्धन गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि आरम्भ गरेको निःशुल्क ‘स्क्रिनिङ’ अभियान सफल बनाउन सम्बद्ध सबैलाई आग्रह गर्नुभएको छ।

आज एक सन्देश जारी गर्दै मन्त्री पौडेलले नेपालमा मृत्यु हुने कारणमध्ये लगभग तीन चौथाइ हिस्सा नसर्ने रोगहरूले ओगटेको जानकारी गराउँदै जलवायु परिवर्तन र बढ्दो सहरीकरणका कारण यी रोगहरू झनै जटिल बन्दै गएको उल्लेख गर्नुभएको छ।

मन्त्री पौडेलका अनुसार, यो समस्यालाई सम्बोधन गर्न सामुदायिक सहभागिताका साथ अभियान सञ्चालन गर्दै स्थानीय तहबाट स्वास्थ्य प्रवद्र्धनात्मक, प्रतिकारात्मक एवं उपचारात्मक सेवा व्यवस्थित गर्ने आवश्यक छ। उहाँले सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा उपचारात्मक सेवाको व्यवस्थापनसँगै निरोधात्मक विधिहरू अपनाएर नागरिकलाई रोगको दुष्चक्रबाट जोगाउने महत्त्वाकांक्षी योजना रहेको बताउनुभयो।

“हाम्रा स्वास्थ्य संस्थामा सेवा तथा उपचारको गुणस्तर अभिवृद्धि गर्न निरन्तर प्रयत्न गरिरहेका छौँ,” उहाँले भन्नुभयो, “साथै, निरोधात्मक विधिअन्तर्गत नागरिकको आधारभूत स्वास्थ्य परीक्षण तथा सचेतनामार्फत रोग लाग्न नदिने प्रयास गरिरहेका छौँ। रोग लागेको खण्डमा समयमै उपचार गरी नागरिकको स्वास्थ्य संरक्षण गर्ने र नागरिक तथा राज्य दुवैको धनराशि जोगाउने हाम्रो प्रमुख उद्देश्य हो।”

अभियानका प्रमुख लक्ष्यहरू

यस अभियानअन्तर्गत ३० वर्षभन्दा माथिका नागरिकलाई हरेक स्थानीय तहका स्वास्थ्य संस्थाहरूमा मधुमेह, उच्च रक्तचाप, मिर्गाैलासम्बन्धी रोग तथा शरीरको उचाइ र तौलको अनुपात समयमै पहिचान गरी नसर्ने रोगहरूको रोकथाम र व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ।

मन्त्रालयले हरेक वर्ष यो अभियानलाई निरन्तरता दिने योजना बनाएको छ। नेपालमा नसर्ने रोगको भार कम गर्न र स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सबै पक्षबाट सहयोग आवश्यक रहेको उल्लेख गर्दै मन्त्री पौडेलले अभियानलाई सफल पार्न सबैलाई हातेमालो गर्न अनुरोध गर्नुभएको छ।