एसीसी महिला टी-२० एसिया कप आजदेखि, नेपालले पहिलो खेलमा युएईको सामना गर्ने

एसीसी महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि श्रीलङ्काको डम्बुलामा सुरु हुँदै छ । प्रतियोगितामा नेपालसहित आठवटा राष्ट्रको सहभागिता रहेको छ । साउन १३ सम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल समूह ‘ए’मा परेको छ । यो समूहमा भारत, पाकिस्तान  र युएई छन् ।

समूह ‘बी’ मा भने श्रीलङ्का, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड छन् । प्रारम्भिक चरणको खेलपछि दुवै समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल खेलमा विजयी हुने दुई टोलीबीच साउन १३ गते फाइनल हुनेछ ।

नेपालले आज समूहगत चरणको पहिलो खेल यूएईसँग खेल्दैछ । खेल नेपाली समयअनुसार अपराह्न १४ः१५ बजे सुरु हुनेछ । दोस्रो खेल भारत र पाकिस्तानबीच साँझ सवा ७ बजे सुरु हुनेछ । नेपाली टोलीले समूहगत चरणमा आफ्नो दोस्रो खेल जुलाई २१ मा पाकिस्तानसँग खेल्नेछ । नेपालले समूहगत चरणको आफ्नो अन्तिम खेल जुलाई २३ तारिखमा बलियो प्रतिद्वन्द्वी भारतसँग खेल्नेछ ।