बागमती प्रदेशको सहज जित, कोशी ७ विकेटले पराजित

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत बागमती प्रदेशले कोशी प्रदेशमाथि ७ विकेटले सहज जित हात पारेको छ।

काेशीले दिएकाे १०० रनको सामान्य लक्ष्य पछ्याएको बागमती प्रदेशले मात्र ९ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। विवेक मगरले आक्रामक ब्याटिङ गर्दै २८ बलमा अविजित ६१ रन बनाए, जसमा १० चौका र २ छक्का समावेश थिए।

प्रतिश जिसीले ५ बलमा १७ रन बनाएर टोलीलाई जितसम्म पुर्‍याए। यसअघि रिङजिन लामाले १७ रन जोडे।

कोशीका लागि बिपिन महतोले २ विकेट लिए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन।

त्यसअघि पहिले ब्याटिङ गरेको कोशी प्रदेश २८.२ ओभरमा मात्र ९९ रनमा समेटियो। कोशीका लागि कप्तान सुजन थपलियाले २१ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्। रोहन शाहले १८ र अंकित सुबेदीले १९ रन जोडे पनि टोलीलाई ठूलो योगफलतर्फ लैजान सकेनन्।

बागमतीका बलरमध्ये सन्दीप लामिछानेले ७.२ ओभरमा ३३ रन खर्चेर ५ विकेट लिए। त्यस्तै ऋजन ढकालले २ तथा प्रतिश जिसी र ईशान पाण्डेले समान १–१ विकेट लिए।

यो जितसँगै बागमती प्रदेश प्रतियोगितामा तेस्रो जित दर्ता गरेको छ।