सुपर आठमा इंग्ल्यान्डको लगातार तेस्रो जित

आइसीसी टी–२० मेन्स क्रिकेट अन्तर्गत इंग्ल्यान्डले सुपर आठअन्तर्गत आफ्नो तेस्रो खेलमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै शतप्रतिशत जित कायम राखेको छ।

पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५९ रन बनाएको थियो। उसका लागि टिम सिफर्टले ३५ रन बनाउँदा फिन एलेनले २९ रन जोडे। ग्लेन फिलिप्सले सर्वाधिक ३९ रनको योगदान दिए भने मार्क च्यापम्यानले १५, कोल म्याककोन्चीले १४ रन बनाए। कप्तान मिचेल सान्टनर ९ रनमा अविजित रहे।

इंग्ल्यान्डका लागि आदिल राशिद र विल ज्याक्सले समान २–२ विकेट लिए। रेहान अहमदले पनि २ विकेट हात पारे भने लियम डसनले १ विकेट लिए।

१६० रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले १९ दशमलव ३ ओभरमा ६ विकेट गुमाएर १ सय ६१ रन बनाउँदै जित निकालेको हो। सुरुआतमै फिल साल्ट २ र जोस बटलर शून्य आउट भए पनि ह्यारी ब्रुकले २६ रन बनाए। जेकब बेथेलले २१ रन जोड्दा टम ब्यान्टनले ३३ रनको महत्वपूर्ण इनिङ्स खेले।

अन्तिमतिर विल ज्याक्स ३२ रनमा अविजित रहँदा रेहान अहमदले ७ बलमा १९ रनको आक्रामक इनिङ्स खेल्दै टोलीलाई जितसम्म पुर्‍याए।

न्युजिल्यान्डका लागि रचिन रविन्द्रले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए। म्याट हेनरी, लकी फर्गुसन र ग्लेन फिलिप्सले समान १–१ विकेट लिए।

यो जितसँगै इंग्ल्यान्डले सुपर आठका तीनै खेल जित्दै ६ अंक जोडेर सेमिफाइनलमा पुगेकाे छ। पराजित न्युजिल्यान्डको भने तीन खेलबाट ३ अंक रहेको छ।

यस समूहको अन्तिम खेलमा श्रीलंका र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेलमा पाकिस्तान फराकिलो अन्तरले विजयी भए सुपर आठमा पुग्नेछ भने पराजित भएमा न्युजिल्यान्डले स्थान बनाउनेछ।