भागीय टोली त्रिभूवन आर्मी र नेपाल पुलिस क्लवले जय ट्रफी मेन्स इलाइट कपको दोस्रो संस्करणमा पनि उपाधिका लागि प्रतिष्पर्धा गर्ने भएका छन् ।
चार टोली सहभागी जय ट्रफीको लिगमा शिर्ष दुई स्थानमा रहँदै आर्मी र नेपाल पुलिसले लगातार दोस्रो संस्करण उपाधि भिडन्त तय गरेका हुन् । शुक्रवार भएको लिगको तेस्रो तथा अन्तिम खेलमा पुलिसले वागमती प्रदेशलाई आठ विकेटले हराउँदै लिगको दोस्रो स्थानमा उक्लियो ।
दिनको अर्को खेलमा आर्मी र एपिएफ क्लबबीच भने ‘ड्र’ भयो । फाइनल भने आगामी प्रतिनिधि सभा निर्वाचनपछि मार्च ५ तारिखमा हुने भएको छ । लिगचरण दुई दिवसीय फरम्याटमा भएको थियो ।
तर फाइनल भने तीन दिवसीय फरम्याटमा हुनेछ । पहिलो संस्करणमा पुलिसले आर्मीले हराउँदै उपाधि उचालेको थियो । यसपल्ट पनि यी दुई टोली नै फाइनलमा पुगेका छन् । पुलिसले दुई जित निकाल्दा आर्मी एक जित र दुई ‘ड्र’ को नतिजा सामना गर्यो ।
समान तीन खेलबाट आर्मीले ६६ अंक र पुलिसले ६५.५ अंक प्राप्त गर्दै शिर्ष दुई स्थानमा रह्यो । आर्मीले पहिलो खेलमा पुलिसलाई ९ विकेटले हराउँदै दोस्रो संस्करणको यात्रा तय गरेको थियो । तर दोस्रो खेलमा वागमतीविरुद्ध ‘ड्र’ को नतिजा सामना गर्यो ।
लगातार दोस्रो ‘ड्र’ बाबजुद आर्मी फाइनलमा स्थान बनाउन सफल भयो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा वागमतीले ८९ रनको सामान्य लक्ष्य दिएको थियो । त्यो लक्ष्य पुलिसले दुई विकेटको क्षतिमा पूरा गर्यो ।
पुलिसको जितमा करण केसीले उत्कृष्ट अलराउण्ड प्रदर्शन गरे । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा आर्मीले दुई सय ८१ रनको लक्ष्य दियो । जबाफी लक्ष्य पछ्याएको एपिएफ सात विकेटको क्षतिमा दुई सय २८ रनको अवस्थामा थियो ।
दुवै टोलीका कप्तानले इनिङ समाप्तीको सहमति गरेपछि खेल ‘ड्र’ भयो । यो खेलमा आर्मीका बसिर अहमद प्लेयर अफ दी म्याच भए । उनले पहिलो इनिङमा २० रन र दोस्रो इनिङमा १०१ रनको सतकीय योगदान दिए ।
उनको नाममा एक विकेट पनि रह्यो । यसै खेलमा आर्मीकै ओपनर तृतराज दासले पनि शतक पूरा गरेका थिए । तृतराजकै शतकमा आर्मीले पहिलो इनिङमा ९ विकेटको क्षतिमा दुई सय ५२ रनमा इनिङ समाप्ती घोषणा गर्यो ।
एपिएफ भने पहिलो इनिङमा एक सय ४० रनमै अलआउट भयो । आर्मीले एक सय १२ रनको अग्रतासहित दोस्रो इनिङ सुरु गरेको थियो । आर्मीले दुई सय ६८ रनमा ८ विकेट गुमाउँदा दोस्रो इनिङ समाप्ती घोषणा गर्यो । यससँगै एपिएफले दुई सय ८१ रनको विशाल लक्ष्य पायो ।
साथै यो खेल ‘ड्र’ को संघारमा देखिन्थ्यो । तर, मध्य क्रमका ब्याटर लोकेश बमले ६५ बलमा ६४ रनको आक्रामक इनिङ खेल्दै लक्ष्यनजिक पुग्ने प्रयास गरे । उनको इनिङमा ६ छक्का र दुई चौका रह्यो । सुमित महर्जन ३१ रनमा नटआउट रहे । उनले ३१ बलमा दुई चौका र तीन छक्का प्रहार गरे ।
शीर्ष तीन ब्याटर दीपक बोहोराले ३२, कप्तान रोहित पौडेलले ३५ रन र आसिफ शेखले ३१ रनको योगदान दिए । आर्मीका स्पिनर नरेन साउदले पाँच विकेट लिँदै एपिएफको इनिङलाई कमजोर बनाउने प्रयास गरे । तर, उनको यो प्रदर्शन आर्मीको जितका लागि पर्याप्त भएन । साहब आलम र पवन कार्कीको नाममा समान एक विकेट रह्यो ।
त्यसअघि आर्मीको दोस्रो इनिङमा मध्य क्रमका ब्याटर बसिर १०१ रनमा नटआउट रहे । उनको इनिङमा १२ चौका रह्यो । कप्तान विनोद भण्डारी ६३ रन र इमरान शेखले ४१ रनको योगदान दिए । ओपनर शेखले पहिलो इनिङमा पनि ७१ रनको अर्धशतकीय इनिङ खेलेका थिए । त्रिवि क्रिकेट मैदानमा पुलिस र बागमतीबीच दुवै इनिङमा ठूलो योगफल बन्न सकेन ।
पहिलो इनिङमा बागमती १८५ रनमा नै अलआउट भयो । पुलिसले ३३४ रनमा आठ विकेट गुमाएपछि इनिङ समाप्ती घोषणा ग¥यो । पुलिसले एक सय ४९ रनको अग्रतासहित बागमतीलाई दोस्रो इनिङका लागि निम्तो दिएको थियो । तर दोस्रो इनिङमा बागमतीले सुधारिएको ब्याटिङ ग¥यो । तर बागमती दुई सय ३७ रनमा अलआउट भएपछि पुलिसले सामान्य लक्ष्य पायो ।
ओपनर सोहेल कुँवरले ३५ रन र करणले २७ रनको अविजित इनिङ खेल्दै पुलिसलाई जित दिलाए । शंकर रानाले २७ रनमा बोल्ड भए । शंकरले पहिलो इनिङमा ४८ रनको योगदान दिएका थिए । पहिलो इनिङमा कुशल भुर्तेलले ९६ रनको उत्कृष्ट प्रदर्शन गरे । कप्तान आरिफ शेखले ५३ रन र दिलसाद अलीले ५१ रनको अर्धशतकीय प्रदर्शनपछि पुलिसको पहिलो इनिङ राम्रो रह्यो ।





