आइसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल रहेको समूह सीबाट सुपर एटमा प्रवेश गर्ने दोस्रो टिम इंग्ल्याण्ड बनेको छ । यसअघि नै अपराजित यात्रा कायम राखेको वेस्टइन्डिजले एक खेल अगावै स्थान पक्का गरेको थियो । सोमबार इंग्ल्याण्डले इटलीलाई २४ रनले पराजित गर्दै समूह चरणमा ६ अंक जोडेर सुपर एटमा स्थान पक्का गर्न सफल भयो । यो समूहमा अब वेस्टइन्डिजले इटाली र नेपालले स्कटल्याण्डसँग खेल्न बाँकी छ ।
कोलकाताको इडेन गार्डेनमा भएको खेलमा इङ्गल्याण्डले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २०२ रनको विशाल योगफल खडा गरेको थियो । इङ्गल्याण्डको सुरुवात केही धर्मराए पनि मध्यक्रम र अन्त्यतिरका ब्याटरहरूले आक्रामक प्रदर्शन गरे । कप्तान जोस बटलर मात्र ३ रनमा आउट भए पनि फिल साल्टले १५ बलमा २८ रन जोडेर इनिङ्सलाई अघि बढाए । विल ज्याक्सले विस्फोटक ब्याटिङ गर्दै मात्र २२ बलमा ३ चौका र ४ छक्काको मद्दतले अविजित ५३ रन बनाएपछि इङ्गल्याण्ड बलियो स्थितिमा पुगेको हो । अन्य ब्याटरहरूमा टम ब्यान्टनले ३०, साम करनले २५ र ज्याकोब बेथेलले २३ रनको योगदान दिए । इटालीका बलर ग्रान्ट स्टिवर्ट र क्रिशन कलुगामागेले २–२ विकेट लिए पनि इङ्गल्याण्डको रनको रफ्तारलाई रोक्न सकेनन् ।
२०३ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउन मैदान उत्रिएको इटालीको सुरुवात अत्यन्तै निराशाजनक रह्यो । जोफ्रा आर्चरले पहिलो ओभरमै एन्थोनी मोस्का र जेजे स्मट्सलाई शून्य रनमा आउट गरेपछि इटाली १ रनमै २ विकेट गुमाएर दबाबमा परेको थियो । यद्यपि, मध्यक्रममा बेन मानेन्टीले विष्फोटक ब्याटिंग गर्दै इङ्गल्याण्डका बलरहरूलाई कडा चुनौती दिए । उनले मात्र २५ बलमा ४ चौका र ६ छक्का प्रहार गर्दै ६० रनको सानदार अर्धशतकीय पारी खेले । उनलाई ग्रान्ट स्टिवर्टले २३ बलमा ४५ रन र जस्टिन मोस्काले ४३ रन बनाएर बलियो साथ दिएका थिए । एक समय इटाली जिततर्फ अग्रसर देखिए पनि इङ्गल्याण्डका बलरहरूले पुनरागमन गर्दै खेललाई आफ्नो पाकडमा राख्न सफल भए ।
इङ्गल्याण्डको बलिङमा जेमी ओभरटन र साम करनले घातक प्रदर्शन गरे । ओभरटनले ४ ओभरमा १ मेडन ओभर फाल्दै मात्र १८ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए भने साम करनले पनि ३ विकेट हात पारे । अन्तिम ओभरतिर इटालीका ब्याटरहरू लगातार आउट भएपछि टोली १७८ रनमा समेटिन पुग्यो । इटालीका अन्तिम तीन ब्याटरहरू शून्य रनमै आउट हुनु हारको मुख्य कारण बन्यो । इङ्गल्याण्डका लागि विल ज्याक्सले ब्याटिङसँगै बलिङमा पनि १ विकेट लिएर अलराउण्ड प्रदर्शन गरे ।





