थाइल्याण्डको बैंककमा जारी ‘डीपी वर्ल्ड महिला एसिया कप राइजिङ स्टार्स २०२६’ को उद्घाटन खेलमा नेपाल पाकिस्तान ‘ए’ सँग ३० रनले पराजित भएको छ। १३८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०७ रन मात्र बनाउन सक्यो।
नेपालका लागि ओपनर बिन्दु रावलले सर्वाधिक ३९ रनको योगदान दिइन्। उनले ४५ बलमा ८ चौका प्रहार गरेकी थिइन्। यस्तै, तल्लो क्रममा सीता राना मगरले अविजित १९ र कविता कुँवरले अविजित १८ रन जोडे पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन। कप्तान पूजा महतोले ११ रन बनाइन् भने अन्य ब्याटरहरूले दोहोरो अंकमा रन जोड्न सकेनन्।
पाकिस्तान ‘ए’ का लागि अनोशा नासिरले घातक बलिङ गर्दै ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिइन्।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ‘ए’ ले २० ओभरमा ६ विकेट गुमाएर १३७ रन बनाएको थियो। पाकिस्तानका लागि कप्तान हाफसा खालिदले अविजित ४० रन बनाइन्। वाहिदा अख्तरले १५ बलमा आक्रामक २३ रन जोडिन्।
नेपालका तर्फबाट कविता कुँवरले उत्कृष्ट बलिङ गर्दै २ ओभरमा मात्र १० रन दिएर २ विकेट लिइन् । साथै मनिषा उपाध्याय, रिया शर्मा, सीता राना मगर र रुविना क्षेत्रीले समान १–१ विकेट हात पारे।





