टी-२० विश्वकप: भारतको अपराजित यात्रालाई कायमै, नामिबिया ९३ रनले पराजित

घरेलु मैदानमा जारी आईसीसी टी-२० विश्वकपमा आयोजक भारतले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । बिहीबार राति दिल्लीस्थित अरुण जेटली स्टेडियममा सम्पन्न खेलमा नामिबियालाई ९३ रनको फराकिलो अन्तरले पराजित गर्दै भारतले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै २०९ रनको विशाल योगफल तयार पारेको थियो । भारतका लागि ओपनर ईशान किशनले विष्फोटक इनिङ्स खेल्दै मात्र २४ बलमा ६१ रन जोडे । उनलाई हार्दिक पाण्ड्याले ५२ रनको अर्धशतकीय योगदान दिँदै बलियो साथ दिए ।

मध्यक्रममा तिलक वर्माले २५, शिवम दुबेले २३ र सन्जु सैमसनले २२ रन जोडे पनि कप्तान सूर्यकुमार यादव १२ रनमै समेटिए । अक्षर पटेल भने शून्य रनमै पभेलियन फर्किएका थिए । नामिबियाका कप्तान जेरार्ड इरास्मसले बलिङमा चामत्कारिक प्रदर्शन गरे । उनले १९ औं ओभरमा लगातार तीन विकेट लिँदै भारतको रन गतिमा लगाम लगाउने प्रयास गरे । उनले व्यक्तिगत कुल ४ विकेट लिए ।

२१० रनको विशाल लक्ष्य पछ्याएको नामिबिया भारतीय बलरसामु निरीह देखियो । नामिबिया १८.२ ओभरमा ११६ रनमै अलआउट हुन पुग्यो । उसका लागि लोरेन स्टीनक्याम्पले २९ र जान फ्राइलिंकले २२ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोरलाई बिर्सनलायक बनाए । नामिबियाको इनिङ्स ध्वस्त पार्ने क्रममा भारतका स्पिनर वरुण चक्रवतीले सर्वाधिक ३ विकेट लिए । यस्तै, हार्दिक पाण्ड्या र अक्षर पटेलले समान २-२ विकेट हात पारे ।

यो जितसँगै समूह ‘ए’मा रहेको भारतले २ खेलबाट ४ अंक जोडेको छ । समान अंक भए पनि पाकिस्तानलाई नेट रनरेटमा पछि पार्दै भारत समूहको शीर्ष स्थानमा उक्लिएको छ । भारतले यसअघि आफ्नो पहिलो खेलमा अमेरिकालाई २९ रनले पराजित गरेको थियो । लगातार दोस्रो हारसँगै नामिबियाको अघिल्लो चरणको यात्रा कठिन बनेको छ । पहिलो खेलमा नेदरल्यान्डसँग ७ विकेटले पराजित भएको नामिबिया अंक तालिकाको पुछारमा छ ।