टी–२० विश्वकप: वेष्ट इन्डिजको सहज जित, पाकिस्तानको रोमाञ्चक सुरुवात

 टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा वेष्ट इन्डिजले स्कटल्याण्डलाई ३५ रनले पराजित गरेको छ। भारतको इडेन गार्डेनमा सम्पन्न खेलमा टस हारेर पहिला ब्याटिङ गरेको वेष्ट इन्डिजले ५ विकेट गुमाउँदै १८२ रनको प्रतिस्पर्धात्मक स्कोर बनाएको थियो।

वेष्ट इन्डिजका लागि शिमरन हेटमायरले आक्रामक ब्याटिङ गर्दै ३६ बलमा ६४ रन जोडे भने ब्रान्डन किंगले ३० बलमा ३५ रनको योगदान दिए। स्कटल्याण्डका ब्राड क्युरीले २ विकेट लिए।

लक्ष्य पछ्याएको स्कटल्याण्ड १८ ओभर ५ बलमै अलआउट हुँदै १४७ रनमै सीमित भयो। टोलीका कप्तान रिच्चि ब्रिङटनले सर्वाधिक ४२ रन बनाए। वेष्ट इन्डिजका रोमारियो शेफर्डले उत्कृष्ट बलिङ गर्दै २० रन खर्चेर ५ विकेट लिए भने जासन होल्डरले ३ विकेट हात पारे। यो समूह ‘सी’ अन्तर्गतको खेल हो।

आजको तेस्रो खेलमा भारत र अमेरिका आमनेसामने हुँदैछन्। यो खेल मुम्बईको वाङ्खेडे मैदानमा हुनेछ।