छैटौँ टाइगर कप: गण्डकीले पुलिस क्लबलाई सोझो सेटमा हरायो

घरेलु टोली गण्डकी प्रदेशले पोखरामा जारी छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबमाथि सहज जित निकालेको छ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबारको अन्तिम खेलमा गण्डकीले पुलिस क्लबलाई सोझो सेटमा पराजित गरेको हो। गण्डकीले पुलिस क्लबलाई २५-२२,२५-२० र २५-१४ ले सहजै पाखा लगायो। पुलिसमाथिको जितसँगै गण्डकीले फाइनल पुग्ने सम्भावना कायम राखेको छ।

त्यसअघि पुरुषतर्फ भएको पहिलो खेलमा पर्वत जिल्ला भलिबल संघले मालदिभ्स भलिबल एसोसियसनलाई ३-० कै सोझो सेटले हराएको हो। पर्वतले मालदिभ्समाथि २५-१७, २५-१८ र २५-१६ को जित दर्ता गर्‍यो।

आजै महिलातर्फ भएको खेलमा न्यू डायमन्ड स्पोट्स क्लब र थाइल्यान्ड क्विन्सले जित निकालेको छ। न्यू डायमन्डले नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा हराउँदै फाइनलमा स्थान पक्का गरेको हो।