नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनकोे आज फाइनल खेल हुँदैछ । शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो ३ः३० बजे हुने खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।
सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो भने इलिमिनेटरमा काठमाडौं गोर्खाज् र दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई पराजित गरेर लुम्बिनीले फाइनलमा आफ्नो स्थान बनाएको हो ।
गत वर्ष जनकपुर बोल्ट्ससँग ५ विकेटले पराजित हुँदै उपविजेता बनेको सुदूरपश्चिमले यसपटक विजेताको उपाधि जित्ने लक्ष्य राखेको छ ।
लिग चरणका ६ खेल जितेर एक खेलमा हार ब्यहोरेको सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा रहँदै प्लेअफ पुगेको थियो । सुदूरपश्चिम लिग चरणमा विराटनगरसँग मात्र पराजय भएको हो ।
कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा सुदूरपश्चिम छ भने कप्तान रोहित पौडेलको नेतृत्वमा लुम्बिनी लायन्स छ । गत संस्करणमा लिग चरणमै बाहिरिएको लुम्बिनी लायन्स यो पटक भने आफ्नो उत्कृष्ट प्रदर्शन देखाउँदै उपाधि जित्ने लक्ष्यमा छ ।





