एन पी एलमा आज : पोखरा एभेन्जर्स आज जनकपुर बोल्ट्ससँगको खेलमा हरियो जर्सी लगाएर खेल्ने

जलवायु परिवर्तनका कारण पग्लँदै गएका हिमाल र हिमनदीहरूको संरक्षणमा विश्व समुदायको ध्यान आकृष्ट गर्न पोखरा एभेन्जर्स आज जनकपुर बोल्ट्ससँगको खेलमा हरियो जर्सी लगाएर मैदान प्रवेश गर्ने भएको छ ।

खेलसँगै नेपालको पर्यटन प्रवर्द्धन र जलवायु परिवर्तनको रोकथामका पक्षमा सन्देश प्रसारण गर्ने यो अभियानलाई क्लबले विशेष रूपमा अघि सार्ने तयारी गरेको छ ।

गत वर्ष पनि पोखरा एभेन्जरले विज्ञापनविहीन जर्सीमार्फत नेपालको अनुपम प्राकृतिक सुन्दरतालाई उजागर गर्दै ‘Pure as Paradise​’ र वातावरणीय सन्तुलनका पक्षमा ‘​Glacier Matter​​’ अभियानको सन्देशसहित पहिलो एनपिएलको सिजन खेलेको थियो ।

पोखरा एभेन्जरका अध्यक्ष सुबोध त्रिपाठीले भनेका छन्, ‘विश्वभरको ध्यान नेपाली क्रिकेटतर्फ मोडिएको यो महत्वपूर्ण क्षण खेल प्रदर्शनका लागि मात्र होइन, हाम्रो आवाज र हाम्रो सम्भावनालाई विश्व अगाडि प्रस्तुत गर्ने अवसर पनि हो। यही उद्देश्यले हामी यो अभियानको नेतृत्व गर्दैछौँ ।’

त्रिपाठीका अनुसार, एनपिएलमा सहभागी हुन नेपाल आएका खेलाडीहरूलाई हरेक वर्ष आफ्ना–आफ्ना फ्रेन्चाइज क्षेत्रहरूमा पुर्याएर त्यहाँका सम्भावनाबारे विश्वमा सन्देश फैलाउन सकिनेछ ।

यही रणनीतिअनुरूप पोखरा एभेन्जरले यस वर्ष पोखरामा जलवायु परिवर्तनका चुनौतीबारे विश्व जनसमुदायलाई सचेत गराउने उद्देश्यसहित ‘Glacier Matter – A Global Call from Pokhara’ नामक इभेन्टको प्रस्ताव क्यानसमक्ष पेस गरिसकेको उनले बताए ।

आजको खेलपछि खेलाडीले लगाएका हरियो जर्सी अक्सनमार्फत् बिक्री गरिने छन् । सो अक्सनबाट संकलित रकम हिमनदी संरक्षण तथा जलवायु परिवर्तन रोकथाम अभियानमै खर्च गरिने बताइएको छ ।