दृष्टिविहिन महिला टी–२० क्रिकेट विश्वकपको पहिलो संस्करणको फाइनलमा भारतले नेपाललाई ७ विकेटले पराजित गर्दै उपाधि हात पारेको छ।
यससँगै नेपाल उपविजेता बनेको छ। श्रीलंकाको कोलम्बोमा सम्पन्न फाइनल खेलमा भारतले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको थियो। तर नेपालले अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दै २० ओभरमा ५ विकेटको क्षतिमा ११४ रन मात्र बनाउन सक्यो।
११५ रनको लक्ष्य पछ्याएको भारतले ११.४ ओभरमै ३ विकेट गुमाएर ११७ रन बनाउँदै सहज जीत दर्ता गर्यो। नेपालले पारीको सुरुवातमै दुई प्रमुख विकेट गुमायो। कप्तान विनिता पुन ४ रनमा रनआउट भइन् भने मनकेसी चौधरी ८ रनमा आउट भइन्।
बी–१ ब्याटर सुष्मा तामाङले २४ बलमा ६ रन बनाइन्। विमला राईले २६ बलमा २६ रन जोडेर सरिता घिमिरेसँग मिलेर ६१ रनको साझेदारी गरेकी थिइन्। नेपालले पाँचौँ विकेट ९५ रनमा गुमायो, जहाँ इशारा माया शून्य रनमा आउट भइन्।
सरिता घिमिरेले ३७ बलमा ३३ रन र विनिता सोमाईले ९ रनको योगदान दिए। भारतले लक्ष्य पछ्याउने क्रममा आफ्ना ओपनर ए देबी (२ रन) र डी थिमबालाहाटी (७ रन) लाई सरिता घिमिरेले नै रनआउट गरिन्। तर तेस्रो क्रममा आएकी करुणा कुमारीले २७ बलमा ४२ रन जोड्दै भारतलाई जितको आधार बनाइन्। अन्त्यतिर पुला सुरेनले २६ बलमा ४४ रन तथा बसन्ती हाँस्दाले १२ रन बनाउँदै भारतलाई च्याम्पियन बनाए।
नेपालको टिममा गीता पौडेल, विनिता पुन, विनिता सोमाई, दिल्ली सरा धमला, देवकी थापा मगर, अङ्गिला ढकाल, मनकेशी चौधरी, कान्ती डगौरा, सरिता घिमिरे, सुनीता भुजेल, सुष्मा तामाङ, पुनम चौधरी, लक्ष्मी तामाङ, एसरा माया लुङ्गेली मगर, विमला राई र प्रतिभा राई रहेका थिए।
टिम प्रमुख प्रशिक्षक पुरनसिंह खत्री, सहायक प्रशिक्षक नरेन्द्र निरौला, र टिम म्यानेजर भगवती भट्टराई बराल थिए। प्रतियोगितामा नेपालसहित ७ राष्ट्र सहभागी थिए ।




