मार्क वाटको शतकमा कर्णालीको सानदार जित, लुम्बिनी ९ विकेटले पराजित

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्समाथि ९ विकेटको फराकिलो जित हात पारेको छ।

लुम्बिनीले दिएको १५७ रनको लक्ष्य कर्णालीले स्कटिस खेलाडी मार्क वाटको विस्फोटक शतकको मद्दतले मात्र १२.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो।

कर्णालीको जितको मुख्य आधार मार्क वाटको अविश्वसनीय ब्याटिङ रह्यो। उनले मात्र ४४ बल सामना गर्दै अविजित ११४ रनको शतकीय पारी खेले।

वाटले लुम्बिनीका बलरहरुमाथि हाबी हुँदै १२ छक्का र ६ चौका प्रहार गरे। उनले मात्र ४१ बलमा आफ्नो शतक पूरा गरेका थिए।

वाटलाई साथ दिँदै विलियम बोसिस्टोले २० बलमा २९ रनको अविजित पारी खेले। कर्णालीले ओपनर प्रियंक पञ्चाल (१२ रन) लाई सस्तैमा गुमाए पनि वाट र बोसिस्टोको साझेदारीले टोलीलाई सहज जित दिलायो।

लुम्बिनीका बलरहरू खेलमा प्रभावहीन देखिए। लुम्बिनीका लागि एकमात्र विकेट शेर मल्लले लिए।

यसअघि टस जितेर कर्णाली याक्सले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५६ रन बनाएको थियो।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सम्हालिएको पारी खेल्दै सर्वाधिक ४९ रन बनाए। ४३ बलको सामना गरेका रोहितले ४ चौका र २ छक्का प्रहार गरे।

अन्तिम ओभरहरुमा रुबेन ट्रम्पेलम्यानले १४ बलमा २९ रन र जेजे स्मितले १४ बलमा २३ रन बनाएपछि लुम्बिनीले सम्मानजनक स्कोर खडा गरेको थियो। अन्य ब्याटरहरुमा डार्सी सर्टले १९ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन्।

कर्णाली याक्सका बलरहरुले लुम्बिनीलाई खुलेर खेल्न दिएनन्। नन्दन यादवले ४ ओभरमा ३८ रन खर्चेर २ विकेट लिए।

त्यस्तै, म्यान अफ द म्याच समेत बन्न सफल मार्क वाटले ब्याटिङमा मात्र नभई बलिङमा पनि कसिलो प्रदर्शन गर्दै ३ ओभरमा १६ रन खर्चेर १ विकेट लिए।

सोमपाल कामी, गुल्सन झा, विपिन शर्मा र युवराज खत्रीले पनि १-१ विकेट हात पारे।