भारतमा जारी ब्लाइन्ड महिला टी–२० विश्वकप क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गर्दै नेपालले बुधबार श्रीलंकालाई ९ विकेटले हराएको हो ।
आफ्नो पहिलो खेलमा श्रीलंकाले दिएको ८८ रनको लक्ष्य नेपालले ५.२ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो ।
नेपालका लागि ओपनर मनकेसी चौधरीले २२ बलमा अविजित ६१ रनको सानदार पारी खेलिन् ।
योसँगै चौधरी ब्लाइन्ड महिला विश्वकप इतिहासमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेकी छन् । यस्तै, अर्की ओपनर विन्दा पुनले ८ बलमा १३ रनको योगदान दिइन् ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८७ रन बनायो । उसका लागि मिहिरानी दुलान्जलीले सर्वाधिक २३ रन जोडिन् ।
बलिङतर्फ नेपालकी कान्ति योगीले प्रभावशाली प्रदर्शन गर्दै तीन विकेट हात पारिन् । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी मनकेसी चौधरी ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।
नेपालले दोस्रो खेलमा शुक्रबार आयोजक भारतको सामना गर्नेछ । भारतले पनि आफ्नो पहिलो खेलमा श्रीलंकाविरुद्ध जित निकालिसकेको छ ।





