रोबेर्ट लेवानडोस्कीकाे ह्याट्रिककाे मद्दतमा बार्सिलोना स्पेनिस ला लिगा अन्तर्गतकाे खेलमा विजयी हासिल गरेको छ।
आइतबार राति सम्पन्न खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई ४-२ गोल अन्तरले पराजित गरेको हो।
बार्सिलोनाको जितमा लेवानडोस्कीले ह्याट्रिक गरेका थिए भने लामिन यमलले एक गोल गरे। त्यस्तै सेल्टा भिगोका लागि सर्जियो कारेइरा र बोर्जा इगलेसियासले एक एक गोल गरेका थिए।
खेलमा फ्रान्की डी जोंगले ९० मिनेटपछिको इन्जुरी समयमा दोहोरो पहेलो कार्ड पाउदै रातो कार्ड पाएका थिए।
जितसँगै बार्सिलोनाको १२ खेलबाट २८ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ। रियल मड्रिडको भने १२ खेलमा ३१ अंकसहित शीर्ष स्थानमा छ। रियल आइतबार राति नै भएकाे अर्काे खेलमा रायो भल्लेकानोसँग गोलरहित बराबरीमा रोकिएको थियाे।





