युईएफए च्याम्पियन्स लिग: क्लब ब्रुग र बार्सिलोना बराबरीमै राेकिए

युईएफए च्याम्पियन्स लिगमा बेल्जियमको क्लब ब्रुगसँग स्पेनिस महारथी बार्सिलोना बराबरीमै राेकिएकाे छ । प्रतिस्पर्धात्मक र गोलको वर्षा भएको यो खेलमा दुवै टोलीले समान ३-३ गोल गरेर एक-एक अंक बाँडेका हुन्।

खेलको छैटाैं मिनेटमै क्लब ब्रुगका ट्रेसोल्डीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, बार्सिलोनाले तुरुन्तै जवाफ फर्कायो र सोही आठाैं मिनेटमा नै फेरान टोरेसले गोल गरेर खेल बराबरीमा ल्याए।

यसपछि, १७ औं मिनेटमा ब्रुगका कार्लोस फोर्ब्सले उत्कृष्ट काउन्टर एट्याकमा गोल गर्दै टोलीलाई पुनः २-१ को अग्रता दिलाए। पहिलो हाफ ब्रुगको सोही अग्रतामा सकिएको थियो।

दोस्रो हाफमा बार्सिलोनाका युवा स्टार लामिन यामलले ६१ औं मिनेटमा सनसनीपूर्ण गोल गरेर स्कोर २-२ को स्थितिमा पुर्‍याए। तर, यो बराबरी धेरै बेर टिक्न सकेन। त्यसको दुई मिनेटपछि नै ६३ औं मिनेटमा कार्लोस फोर्ब्सले व्यक्तिगत दोस्रो गोल गर्दै ब्रुगलाई फेरि ३-२ ले अगाडि बढाए।

बार्सिलोनाले खेलमा फर्किन अथक प्रयास गर्‍यो। अन्ततः ७७ औं मिनेटमा ब्रुगका खेलाडी क्रिस्टोस ट्जोलिसले दुर्भाग्यवश आफ्नै पोस्टमा बल छिराउन पुग्दा खेलको स्कोर ३-३ को रोमाञ्चक बराबरीमा पुग्यो।

अन्तिम समयसम्म दुवै टोलीले गोलका लागि धेरै प्रयास गरे, तर कुनै पनि गोल हुन सकेन र छ गोलको थ्रिलर खेल बराबरीमै सकियाे ।