संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलामा खराब नतिजा हात पारेको नेपाल आज (बुधबार) आफ्नो अन्तिम खेल खेल्दैछ । जारी लिगअन्तर्गत पछिल्ला तीन खेल हारेको नेपाल अन्तिम खेलमा युएईसँग खेल्न लागेको हो ।
दुई देशबीचको खेल सदाझैं बिहान सबा ११ बजेदेखि सुरु हुनेछ । गत शनिबार खेलिएको आफ्नो तेस्रो खेलमा अमेरिकासँग चार विकेटले पराजित भएको थियो । यो शृंखलामा नेपाली टोली अमेरिकासँग दोस्रोपटक पराजित भएको थियो । यसअघि पहिलो खेलमा पनि नेपाली टोली अमेरिकासँग १०६ रनको फराकिलो अन्तरले हारेको थियो । नेपाल दोस्रो खेलमा युएईसँग हारेको थियो ।
अमेरिकाले भने जारी शृंखलामा लगातार चार जित हात पारिसकेको छ । अमेरिकाले सोमबार घरेलु युएईविरुद्ध २४३ रनको सानदार जित दर्ता गरेको थियो । जितसँगै २४ खेलमा ३६ अंक जोडेको अमेरिका शीर्ष स्थानमा छ । पराजित युएई १९ खेलबाट आठ अंकका साथ पुछारमा छ ।
जारी सिजनको लिग-२ तालिकामा नेपालको अवस्था भने सन्तोषजनक छैन । १९ खेल खेलेको नेपाल १२ अंकसहित सातौं स्थानमा छ ।
नेपालले केवल पाँच जित र १२ हारको नतिजा निकालेको छ । नेपालको दुई खेल अनिर्णितरूपमा सकिएको छ । सहभागी टोलीका लागि आइसिसी क्रिकेट विश्वकप लिग-२ प्रतियोगिता निकै महत्वपूर्ण छ । यो प्रतियोगिता सन् २०२७ मा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकपका लागि छनोटको आधारका रूपमा पनि रहेको छ ।
सन् २०२७ को एकदिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा संयुक्तरूपमा आयोजना हुँदैछ । लिग-२ प्रतियोगिताको समाप्तिपछि अंक तालिकाको माथिल्लो चार स्थानमा रहने राष्ट्र सिधै उक्त एकदिवसीय विश्वकपको अन्तिम चरणको छनोटमा प्रवेश गर्नेछन् ।
लिग-२ तालिकाको अन्तिम चार स्थानमा रहने राष्ट्रले भने विश्वकप क्वालिफायरका लागि प्ले-अफ चरण खेल्नुपर्नेछ । यसका अतिरिक्त अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)बाट सन् २०१८ मा प्राप्त एकदिवसीय मान्यता जोगाउन पनि यो प्रतियोगिताको महत्वपूर्ण भूमिका रहन्छ । हाल आइसिसीबाट अस्थायीरूपमा एकदिवसीय मान्यता पाएका नेपालसहितका एसोसिएट्स सदस्य राष्ट्रको उक्त मान्यता सन् २०२६ को विश्वकप छनोटसम्म कायम रहनेछ । यो सूचीमा स्कटल्याण्ड, युएई, नेदरल्याण्ड्स, नामिबिया, ओमान, अमेरिका र क्यानडा पनि रहेका छन् ।
लिग-२ प्रतियोगिताको दोस्रो संस्करणमा सहभागी आठवटै राष्ट्रले ३६-३६ खेल खेल्नेछन् । प्रत्येक राष्ट्रले घरेलु मैदानमा तीनवटा शृंखला खेल्नेछन् भने ६ वटा शृंखला अन्य राष्ट्रको मैदानमा खेल्नेछन् ।





