साम्बा चम्केपछि भारतविरुद्ध नेपालको जित

कप्तान सावित्रा भण्डारी साम्बाले दुई गोल गरेपछि त्रिदेशीय अन्तर्राष्ट्रियमैत्री फुटबलमा नेपालले सोमबार परम्परागत प्रतिद्वन्द्वी भारतलाई उसकै मैदानमा २–१ ले हराएको छ । फिफा विन्डो अन्तर्गत यो प्रतियोगिता भएको हो ।

भारतको सिलोङस्थित जवाहरलाल नेहरू रङ्गशालामा भएको खेलको दोस्रो मिनेटमै साम्बाले गोल गरी नेपाललाई स्वप्निल अग्रता दिलाउनुभएको हो । डिफेन्डर बिमला विकेको पासमा साम्बाले उत्कृष्ट रन बनाएर भारतकी गोलकिपर पानमथोई छानूसँगको ‘वान भर्सेज वान’ मा गोल गर्नुभयो । खेलको ६३ औँ मिनेटमा साम्बाले करिब २५ गजमा प्राप्त फ्री किकमा गोल गरी नेपालको अग्रता दोब्बर बनाउनुभयो । प्रीति राईलाई लडाइएपछि नेपालले फ्री किक अवसर पाएको थियो । भारतविरुद्धको दुई गोलसँगै साम्बाको अन्तर्राष्ट्रिय गोल खेलमा ६८ पुगेको छ । सावित्राले भारतविरुद्ध मात्र नौ गोल गर्नुभएको छ ।

निर्धारित समय सकिन नौ मिनेट बाँकी छँदा भारतकी स्थानापन्न खेलाडी करिश्मा श्रीरभोइकरले गोल गर्नुभयो । किरण पिस्डाको फ्री किक सदुपयोग गर्दै करिश्माले नेपालकी गोलकिपर अञ्जना रानामगरलाई ‘बिट’ गर्दै गोल गर्नुभएको हो । सो गोलले नेपाल दबाबमा आएको थियो । तर नेपालले भारतलाई बराबरी गोल गर्न दिएन । भारतविरुद्ध नेपालको यो मात्र चौथो जित हो । नेपाल र भारतबिच अहिलेसम्म समग्रमा १९ खेल भएको छ । जसमा भारतले ११ खेल जितेको छ । चार खेल बराबरीमा सकिएको थियो । तर सन् २०१९ पछि भारतले नेपाललाई हराउन सकेको छैन । भारतविरुद्धको पछिल्ला पाँच खेलमा नेपाल अपराजित छ ।

आजको नतिजासँगै त्रिदेशीय प्रतियोगितामा भारत दुवै खेल हारेर पुछारमा रह्यो । नेपाल उपविजेता बन्यो । नेपाल र भारत दुवैलाई हराएको इरान च्याम्पियन बनेको छ । नेपाल आफ्नो पहिलो खेलमा इरानसँग ३–० ले पराजित भएको थियो । यसअघि इरानले भारतलाई पनि २–० ले हराएको थियो । अब नेपालले भारतसँग सिक्किममा मैत्री खेल खेल्ने छ ।