थ्री नेसन्स कपको पहिलो खेलमा नेपाल ३–० ले पराजित

६ वर्षपछि भएको भेटमा नेपाली राष्ट्रिय फुटबल टोलीले इरानलाई सहजै नतिजा सुम्पिएको छ।

भारत शिलोङको जवाहरलाल नेहरू स्टेडियममा शुक्रबार सम्पन्न थ्री नेसन्स कपको पहिलो खेलमै नेपाल ३–० ले पराजित भएको हो।

यही टोली २०१९ मा भारतमै भएको हिरो गोल्ड कपमा पनि भिडेका थिए। उक्त खेलमा सावित्रा भण्डारीको दुई र अनित बस्नेतको एक गोलमा नेपालले ३–० को जित निकालेको थियो। तर, यसपल्ट इरानले सोही स्कोरमा जित निकाल्दै नेपालसँग बदला लिन सफल भएको हो।

योसँगै इरानले अपराजित रहँदै प्रतियोगिताको उपाधि पनि हात पारेको छ। पहिलो खेलमा इरानले घरेलु टोलीलाई २–० ले पाखा लगाएको थियो। उक्त खेलमा दुवै गोल गरेकी सारा दिदारले यसपल्ट नेपालविरुद्ध पनि ब्रेक थ्रू दिलाइन्।

पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए। तर, दोस्रो हाफमा इरानले आक्रामक खेल खेल्दै १२ मिनेटमै तीन गोल वर्षायो।

४९औं मिनेटमा साराले गोलको खाता खोलिन्। त्यसको तीन मिनेठमै जाहरा घानबारीले अर्को गोल थप्दै टोलीलाई जिततर्फ डोर्‍याइन्।

५७औं मिनेटमा सबनम बेहेसितले तेस्रो गोल गर्दै जित पक्का गरिन्। अब नेपालले सोमबार घरेलु टोलीसँग सान्त्वना जितका लागि खेल्नेछ।