नेपालले कतारलाई दियो १४८ रनको लक्ष्य

भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुने विश्वकप टी–२० क्रिकेटका लागि नेपाल एक जित टाढा रहेको छ । नेपालले अहिले ओमानको मस्कटमा भइरहेको टी–२० विश्वकप एसिया–इष्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा कतारसँग खेलिरहेको छ ।

खेल जितका लागि नेपालले कतारलाई १४८ रनको चुनौती दिएको छ । खेलमा टस हारेर नेपालले पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा १४७ रन बनायो । 

नेपालले २५ रन जोड्दा ओपनिङ जोडी आसिफ शेखलाई ११ तथा कुशल भुर्तेललाई  ६ रनमा गुमायो । त्यस्तै ४८ रन जोड्दा नेपालले तेस्रो विकेट गुमायो । कुशल मल्ल ८ रन बनाएर आउट भए । 

 नेपालले ११० रन जोड्दा चौथो विकेट गुमायो । दिपेन्द्र सिंह ऐरीले चौथो विकेटका लागि रोहितसँग मिलेर ६२ रनको साझेदारी गर्ने क्रममा २६ रन जोडे । 

नेपालले ११४ रन जोड्दा पाँचौँ विकेट गुमायो । अदिल आलम २ रनमा आउट भए । नेपालले ११५ रन जोड्दा छैटौँ विकेट गुमायो । कप्तान रोहित पौडेल ४१ बलमा ५८ रन जोडेर आउट भए । नेपालले ११६ रन जोड्दा सातौँ विकेट गुमायो । सन्दीप जोरा १ रन बनाएर आउट भए । नेपालले १३४ रन जोड्दा आठौँ विकेट गुमायो । गुल्सन झा ८ बलमा १६ रन बनाएर आउट भए । 

नेपालले १४७ रन बनाउँदा नवौँ विकेट गुमायो । सोमपाल कामी ८ बलमा १४ रन बनाएर आउट भए । सुपर सिक्सको पहिलो खेलमा यूएईमाथि सनसनीपूर्ण एक रनको जित निकालेको थियो |

यसअघि नेपालले आइतबार यूएईमाथि एक रनको सनसनीपूर्ण विजय हात पारेको थियो । दाबेदार मानिएको यूएईमाथिको यस विजयपछि नेपाल विश्वकपको नजिक पुगेको हो । 

खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले आसिफ शेखले ४७ बलमा ५१ रन बनाएपछि निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ४० रन बनाउन सकेको थियो ।

जवाफमा जित नजिक पुगेको यूएईलाई अन्तिम ओभरमा विजयका लागि १० रन आवश्यक भएको समयमा दीपेन्द्रसिंह ऐरीले ८ रनमात्र दिएका थिए । 

सो क्रममा नेपालले ३ विकेट लिँदै नाटकीय जित हात पारेको थियो । जसका कारण यूएई ९ विकेट गुमाई १ सय ३९ रनमात्र बनाउन सक्यो ।

दीपेन्द्रले अन्तिम ओभरको पहिलो दुई बलमा १ रनमात्र दिएका थिए । तेस्रो बलमा ध्रुव परासरले छक्का प्रहार गरे । त्यसपछि नेपालले लगातार तीन विकेट लिएको थियो । 

चौथो बलमा दीपेन्द्रले परासरलाई बाउन्ड्री लाइनमा क्याच गराएका थिए । पाँचौँ बलमा सन्दीप जोराले हैदर अलीलाई रनआउट गरे । 

छैटौँ तथा अन्तिम बलमा यूएईलाई विजयका लागि ३ रन चाहिन्थ्यो । तर जुनाइद सिद्धिकी २ रन लिने क्रममा रोहित पौडेलको थ्रोमा रनआउट भए । 

यसरी नेपालले रोमाञ्चक एक रनको जित हासिल गरेको थियो । सुपर सिक्समा नेपाल र ओमानको समान ४ अंक भएको छ ।

अब आज रातिको बहुप्रतिक्षित खेलले नेपाललाई थप उत्साही बनाइरहेको छ । यो खेल जित्दा आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा हुने विश्वकपमा स्थान लगभग पक्का हुनेछ ।