ओमानलाई छ विकेटले हराउँदै नेपाल विजयी

आईसीसी टी-२० विश्वकपको छनोटको तयारीमा रहेको नेपालले पहिलो वार्मअप म्याचमा ओमानलाई ६ विकेटले पराजित गरेको छ। शनिबार भएको खेलमा ओमानले प्रस्तुत गरेको १११ रनको लक्ष्य नेपालले सहजै पूरा गरेको हो।

नेपालले १७ ओभरको समाप्तिमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। नेपालको जितमा ओपनर आसिफ शेखले ६१ रनको शानदार अर्धशतकीय इनिङ्स खेले। अन्य ब्याट्सम्यानमध्ये कप्तान रोहित पौडेलले २५ रन, कुशल भुर्तेलले ११ रन र कुशल मल्लले १० रन जोडे।

सुरुमा ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतिमा ११० रन बनाएको थियो। ओमानलाई सस्तैमा समेट्नका लागि नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। सोमपाल कामी, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान दुई–दुई विकेट हात पारे।

विश्वकपको छनोट खेल्न ओमान पुगेको नेपाली टोली वार्मअप म्याचमा व्यस्त भएको हो। छनोटको समूह चरणमा नेपालले कुवेत र जापानसँग खेल्नेछ। समूह चरणको शीर्ष स्थानमा रहने टोली सुपर सिक्समा पुग्नेछ, जहाँबाट शीर्ष तीन टोलीले अर्को वर्ष हुने टी-२० विश्वकपमा स्थान बनाउनेछन्।