वेस्ट इन्डिजविरुद्ध टस जितेर नेपालले रोज्यो ब्याटिङ

वेस्टइन्डिजसँगको टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ। खेल शारजाह क्रिकेट रंगशालामा सवा ८ बजे सुरु हुँदैछ।

यसअघि शनिबार भएको पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई १९ रनले पराजित गर्दै ऐतिहासिक जित हासिल गरेको थियो। सोसँगै नेपालले श्रृंखलामा १–० को अग्रता लिएको छ।

नेपालले आजको खेलमा पनि जित हात पार्न सके एक खेल अगावै शृंखला आफ्नो पक्षमा पार्नेछ। पहिलो खेलमा ब्याटिङ, बलिङ र फिल्डिङ तीनै विभागमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरेको थियो। दोस्रो खेलमा पनि त्यस्तै प्रदर्शन दोहोरिने अपेक्षा गरिएको छ।

नेपाल र वेस्टइन्डिजबीचको तेस्रो र अन्तिम खेल मंगलबार शारजाहमै हुनेछ।