नेपालले टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध हुने तीन खेलको युनिटी कप अन्तर्राष्ट्रिय टी ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत पहिलो खेलमा पहिले ब्याटिङ गर्ने अवसर पाएको छ ।
संयुक्त अरब इमिरेट्स (यूएई)को शारजाह क्रिकेट रङ्गशालामा दुई पटकको विश्वकप विजेता टोली वेस्ट इन्डिजले टस जितेर बलिङ रोजेसँगै नेपालले ब्याटिङको अवसर पाएको हो ।
नेपालले दोस्रो खेल यही असोज १३ गते खेल्ने छ भने तेस्रो खेल १४ गते खेल्नेछ ।
यो सिरिज खेलेर नेपाली टोली आईसीसी टी-२० विश्वकपको एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेल्न ओमान जाने तालिका छ ।
प्रतियोगिताको तयारीस्वरूप नै नेपालले वेस्ट इन्डिजसँग खेलिरहेको हो ।
रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल र आसिफ सेख छन् ।
यसैगरी आदिल आलम, करण केसी, नन्दन यादव, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुलशन झा र साहब आलम छन् ।
यता अकिल होसेनको कप्तानीमा रहेको वेष्ट इन्डिज टोलीमा भने फाबियन एलेन, जेवेल एन्ड्र्यू, अकिम अगस्ट, नभिन बिडाइस, जेडियाह ब्लेड्स, किएसी कार्टी, करिमा गोरे र जेसन होल्डर छन् ।
यस्तै अमिर जान्गू, काइल मेयर्स, ओबेड मेकोए, जिसान मोटारा, रामोन सिमन्ड्स, शमार स्प्रिङ्गरजस्ता खेलाडी छन् ।





