बंगलादेशलाई ११ रनले हराउँदै पाकिस्तान टी ट्वान्टी एसिया कपको फाइनल

पाकिस्तानले एसीसी टी ट्वान्टी एसिया कपको सुपर फोर खेलमा बंगलादेशलाई ११ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । पाकिस्तानले आइतबार भारतसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ । एसिया कप इतिहासमा पहिलो पटक भारत र पाकिस्तान फाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

जित्नलाई १ सय ३५ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २४ रन बनायो ।

बंगलादेशका शमिम हुसैनले २५ बलमा २ छक्कासहित सर्वाधिक ३० रन बनाए । ओपनर सैफ हसन १८, प्रवेज हसन एमोन डक, हृदोय ५, मेहेदी हसन ११, नुरुल हसन १६ र जाकेर अली ५ रनमा आउट भए ।


पाकिस्तानका शाहिन शाह अफ्रिदीले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । पार्टटाइम स्पिनर सैम अयुबले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । हरिस रौफले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि दुबई क्रिकेट रंगशालामा टस हारेर पहिला थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो ।

पाकिस्तानका मोहम्मद हरिसले २३ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३१ रन बनाए । शीर्षक्रमका ब्याटर शहिबजादा फरान ४, फखर जमान १३, सैम अयुब डक र कप्तान सलमान अली अघा १९ रनमा आउट भए । सैम यस एसिया कपमा ६ मध्य ४ खेलमा डक आउट भएका छन् ।

तल्लोक्रममा शाहिन शाह अफ्रिदी १९ र मोहम्मद नवाजले १५ बलमा १ चौका र २ छक्कासहित २५ तथा फहिम अशरफले १४ रन बनाए ।

बंगलादेशका तस्किन अहमदले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । मेहेदी हसन र रिसाद हुसेन २-२ विकेट लिए । फाइनल आइतबार हुनेछ । भारतले सुपर फोरको अन्तिम खेलमा शुक्रबार श्रीलंकासँग खेल्नेछ ।