एसिया कप क्रिकेटको सुपर फोरमा पाकिस्तानले श्रीलंकामाथि पाँच विकेटको जित हासिल गरेको छ। गएराति भएको खेलमा टस जितेर फिल्डिङ रोजेको पाकिस्तानले १३४ रनको लक्ष्य १८ ओभरमै पाँच विकेट गुमाउँदै पूरा गर्यो।
पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा आठ विकेट गुमाउँदै १३३ रन जोड्यो। उसका लागि कामिन्दु मेन्डिसले ४४ बलमा ५० रनको अर्धशतक प्रहार गरे भने अन्य खेलाडीले उल्लेख्य योगदान दिन सकेनन्। पाकिस्तानका बलर शाहिन शाह अफ्रिदीले तीन विकेट लिए।
लक्ष्य पछ्याउने क्रममा पाकिस्तानका साहिबजादा फारहानले २४, फखर जमानले १७ र हुसेन तलताले ३२ रन जोडे। मोहम्मद नवाजले आक्रामक खेल प्रदर्शन गर्दै २४ बलमा नटआउट ३८ रन बनाए।
यस जितसँगै पाकिस्तानले सुपर फोरमा दुई अंक जोडेको छ। यसअघि पहिलो खेलमा पाकिस्तान भारतसँग ६ विकेटले पराजित भएको थियो। सुपर फोरअन्तर्गत आज भारत र बंगलादेश आमनेसामने हुनेछन्।





