एसिया कपमा भारतसँग पाकिस्तान पराजित

ओपनर अभिषेक शर्माको अर्धशतकको सहयोगमा भारतले एसीसी टीट्वान्टी एसिया कपको सुपर फोरमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको छ । जित्नलाई १ सय ७२ रनको लक्ष्य पछ्याएको भारतले १८.४ ओेभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

भारतका अभिषेक शर्माले ३९ बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक ७४ रन बनाए । शुभमन गिलले २८ बलमा ८ चौकासहित ४७ रन बनाए । भारतलाई ओपनर शुभमन गिल र अभिषेक शर्माले ९.५ ओभरमा १ सय ५ रनको शतकीय साझेदारी गर्दै सहज जितको आधार तय गरेका थिए । फहिम अशरफले गिललाई बोल्ड गर्दैपाकिस्तानलाई पहिलो सफलता दिलाएका थिए ।

कप्तान सूर्यकुमार यादव डक र सञ्जु स्यामसन १३ रनमा आउट भए । तिलक बर्मा १९ बलमा २ चौका र २ छक्कासहित ३० र हार्दिक पान्ड्या ७ रनमा नटआउट रहे । पाकिस्तानका हरिस रौफले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । फहिम अशरफ र अब्रार अहमदले १-१ विकेट लिए ।

त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७१ रन बनाएको थियो ।

पाकिस्तानका ओपनर शहिबजादा फरानले ४५ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ५८ रन बनाएका थिए । इनिङको तेस्रो बलमै हार्दिक पान्ड्याको बलमा ठूलो सट खेलेका फरानको क्याच अभिषेक शर्माले खाता नखोल्दै डीप थर्डमा र ३२ रनमा डिपमिडविकेटमा क्याच छाडेका थिए । दुई क्याचको फाइदा उठाउँदै फरानले महत्वपूर्ण अर्धशतक प्रहार गरेका थिए ।

पाकिस्तानलाई ओपनर फखर जमान र शहिबजादा फरानले २.३ ओभरमा २१ रन जोड्दै आक्रामक सुरुवात दिलाएका थिए । लगातार तीन खेलमा शून्यमा आउट भएपछि सैम अयुबको स्थानमा पाकिस्तानले फखरलाई ओपनिङमा ल्याएको थियो ।

तर फखरलाई थर्डअम्पायरले विवादस्पद आउट भए । हार्दिक पान्ड्याको बलमा एज लागेर विकेटकिपर सञ्जु स्यामसनले उनको क्याच लिएका थिए । तर बल पहिला जमिनमा लागेर किपरको गल्भ्समा गएको देखिएपनि अम्पायरले आउट दिएका थिए ।

दोस्रो विकेटलाई सैम अयुब र फरानले ७२ रनको महत्वपूर्ण साझेदारी गर्दै पाकिस्तानलाई बलियो योगफलको सम्भावना देखाएका थिए । सैम दुबेको बलमा १७ बलमा १ चौका र १ छक्कासहित २१ र हुसेन तालत १० रनमा आउट भए । सुरुवाती १० ओभरमा १ विकेट गुमाउँदै ९१ रन बनाएको पाकिस्तानले त्यसपछि भने रनको गति बढाउन सकेन । त्यो नै पाकिस्तानको हारको कारण बन्यो ।

मोहम्मद नवाज १९ बलमा २१ रनमा आउट भए । फहिम अशरफले ८ बलमा १ चौका र २ छक्कासहित २० तथा कप्तान सलमान अली अघा १७ रनमा अविजित रहे ।

भारतका शिबम दुबेले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । जस्प्रित बुमराहले ४ ओभरमा ४५ रन खर्चिदा विकेटविहीन बने । कुलदीप यादव र हार्दिक पान्ड्याले १–१ विकेट लिए । यसअघि समूह चरणमा पाकिस्तान भारतसँग ७ विकेटले हार्न पुगेको थियो ।

सुपर फोरमा यसअघि पहिलो खेलमा शनिबार बंगलादेशले श्रीलंकालाई ४ विकेटले हराएको थियो । अव मंगलबार पाकिस्तान र श्रीलंका खेल्नेछन् । बुधबार भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । बिहीबार बंगलादेश र पाकिस्तान खेल्नेछन् । शुक्रबार भारत र श्रीलंका खेल्नेछन् । शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।