नेपाल प्रीमियर लीगको अक्सन भोलि

नेपाल प्रीमियर लीग (एनपीएल) को दोस्रो संस्करणका लागि भोलि साउन २२ गते बिहीवार खेलाडीहरु छनोट गर्नका लागि अक्सन कार्यक्रम आयोजना गरिँदैछ । त्यसका लागि १ सय ५० जना खेलाडीहरु सर्ट लिष्टमा परेका छन् ।

खेलाडीको यो सूचीबाट फ्रेन्चाइज टीमहरूले ३७ जना खेलाडीमाथि बोलि लगाउने छन् । एनपिएलले अक्सनमा सहभागिताका लागि आवेदन दिएका ४ सय ५८ खेलाडीमध्ये १ सय ५० जनालाइ सर्ट लिस्टमा समावेश गरेको हो ।

एनपिएलमा सहभागिता जनाउने ८ टोलीले इच्छाएका तथा नेपाल क्रिकेट संघ क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डमा रहेका १ सय ५० खेलाडीलाई सूचीमा समावेश गरिएको छ ।

१ सय ५० खेलाडी विभिन्न श्रेणीमा विभाजन गरिएको छ । उनीहरुमध्ये श्रेणी ‘ए’ मा ८ जना, श्रेणी ‘बी’ मा ३५ तथा श्रेणी ‘सी’ मा १ सय ७ खेलाडी रहेका छन् ।

एनपिएलको पहिलो संस्करणको अक्सनबाट ८८ खेलाडी (मार्कीसहित) विभिन्न टोलीमा समावेश भएका थिए । अक्सनमा बोलि लागेका ८८ खेलाडीमध्ये टोलीले दोस्रो संस्करणका लागि ५१ (मार्कीसहित) खेलाडीलाई निरन्तरता दिएका छन् ।

अहिले फ्रेन्चाइजहरुलाई श्रेणी ‘ए’ मा ४, श्रेणी ”बी’ मा २३ तथा श्रेणी ‘सी’ मा १० खेलाडी गरी कुल ३७ खेलाडीमात्र आवश्यक रहेको छ ।

अक्सनमा रहने खेलाडीको श्रेणी अनुसार मूल्य हुनेछ । ‘ए’ क्याटगोरीमा रहने खेलाडीको न्युनतम १० लाख-अधिकतम १५ लाख हुँदा श्रेणी ‘बी’ क्याटगोरीमा रहने खेलाडीको न्युनतम ५ लाखदेखि अधिकतम १० लाखसम्म तथा श्रेणी ‘सी’ क्याटगोरीमा रहने खेलाडीको न्युनतम २ लाखदेखि अधिकतम ५ लाख मूल्य सम्म रहने छ ।