मिसेस नेपाल वर्ल्ड-२०२५ को ताज बुटवलकी रक्षा पन्तले चुम्नुभएको छ । काठमाडौंमा आयोजित एक विशेष समारोहमा आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै उहाँले उक्त ताज पहिरिन सफल हुनुभएको हो । विवाहित महिलाको प्रतिष्ठित सौन्दर्य प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा २४ प्रतियोगीलाई पछि पार्दै उहाँले उपाधि हात पार्न सफल हुनुभएको हो ।
पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल प्रमुख निर्णायक रहेको प्रतियोगिताको अन्तिम प्रश्न-उत्तर सत्रमा ‘समाजमा विद्यमान विकृतिमध्ये तपाईं के हटाउन चाहनुहुन्छ ?’ भन्ने प्रश्नको प्रभावकारी उत्तर दिएपछि पन्त विजेता घोषित हुनुभएको थियो । उहाँले केडी फोटोग्राफी मष्ट फोटोजेनिक उप-उपाधि पनि आफ्नो पोल्टामा पार्न सफल हुनुभएको छ । शीर्ष उपाधिसँगै उहाँले स्कुटर तथा अमेरिकामा हुने मिसेस वर्ल्ड-२०२६ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नुभएको छ ।
प्रतियोगितामा सञ्जु भट्ट मिसेस नेपाल इन्टरनेशनल हुनुभयो । उहाँले सेन्ट्रल फेशन स्कुल फेशन आइकन उपाधिसमेत हात पार्नुभयो । दीपिका तामाङ एमएस नेपाल इन्टरनेशनल घोषित हुनुभयो भने मिसेस नेपाल वर्ल्डको फस्ट रनर-अप विद्या चौहान हुनुभयो । उहाँले भ्युवर्स च्वाइस र फेसबुक च्वाइस पनि जित्नुभयो । सेकेण्ड रनर-अप एलिना केसीले क्युट केयर वेष्ट हेयर, थर्ड रनर-अप निर्मला सुनुवारले सावित्री कञ्जनजंगा वेष्ट डान्सरको उपाधि प्राप्त गर्नुभयो ।
मिसेस नेपाल इन्टरनेशनल विजेताले सिंगापुरमा हुने मिसेस इन्टरनेशनल र एमएस नेपाल इन्टरनेशनल विजेताले त्यहीँ हुने एमएस इन्टरनेशनल प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
समारोहमा अभिनेत्री, कथाकार तथा गीतकार पूजा चन्दलाई झण्डै साढे तीन दशकदेखि नेपाली चलचित्र, कला, संस्कृति तथा साहित्य क्षेत्रमा पुर्याएको योगदानका लागि मानार्थ मिसेस नेपाल वर्ल्ड-२०२५ बाट सम्मान गरिएको थियो । सम्मानअघि कलाकार एसराज गराच र ऋचा थापाले उहाँका लोकप्रिय गीतमा नृत्य प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न शीर्षकमा उपाधि पनि प्रदान गरिएको थियो । जसमा नेपाल टेलिकम मल्टिमिडिया भ्वाइस-अरुणा लामा, मेहता कस्मेटिक्स हेल्दी स्किन- तारा खनाल, मिशेलिन वेष्ट र्याम्प वाक- सुम्निमा खापुङ, एआरएस डेन्टल वेष्ट स्माइल-बिनिता अधिकारी, रिलायबल डायग्नोस्टिक मष्ट डिसिप्लिन्ड-विष्णु भण्डारी, क्याभिन्स मष्ट फ्रेन्डली–कुसुम खड्का, भीनी मस्ट ट्यालेन्टेड-कञ्चन झा, फ्लाइटेक इन्टरनेशनल मिसेस इको फ्रेन्डली-कल्पना विष्ट, मिलेनिया ग्लोबल ब्युटी विथ कम्प्यासन-शुभाना रोक्का, अयुथ वेदा वेष्ट पर्सनालिटी-इमायुं राई, स्वास्थ्यश्री वेष्ट फिजिक-सुमिना महर्जन, राजधानी राष्ट्रिय दैनिक इन्टलेक्चुअल ब्युटी-गंगा लामिछाने, रिबन इन्टरटेनमेन्ट म्यानेजमेन्ट च्वाइस-सजनी जोशीलाई प्रदान गरिएको थियो ।
प्रतियोगिताको निर्णायक मण्डलमा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, अभिनेता तथा निर्देशक सरोज खनाल, अभिनेत्री सनी रौनियार, मिसेस नेपाल वर्ल्ड-२०२३ पृथिविया थापा, ग्ल्यामर फोटोग्राफर राजभाइ सुवाल, अभिनेता तथा निर्माता गजित विष्ट र जनरल फिजिसियन डा.कर्टले भूमिका निर्वाह गर्नुभएको थियो ।
सेसेमी लिम्बुले सञ्चालन गरेको कार्यक्रमको कोरियोग्राफी अश्विनीकान्त झा र डान्स कोरियोग्राफी सन्दीप भुजेलले गर्नुभएको थियो । प्रतियोगिताको समायोजन सम्राट शाह, अञ्जन परियार र गंगा महर्जनले गर्नुभएको थियो । रिबन इन्टरटेन्मेन्टद्वारा आयोजना गरिएको यो प्रतियोगितामा विभिन्न मनोरञ्जक प्रस्तुति प्रस्तुत गरिएको थियो ।





