चलचित्र ‘हरिबहादुरको जुत्ता’ को ट्रेलर सार्वजनिक भएको छ। दशैँको फूलपातीमा रिलिज तयारीमा रहेको यो वर्षको प्रतिक्षित चलचित्रको रूपमा हेरिएको चलचित्रको ट्रेलर आज सार्वजनिक भएको हो। दिपेन्द्र के. खनाल निर्देशित चलचित्रको ट्रेलरले कमेडी भावलाई प्रस्तुत गर्दै अहिलेको समसामयिक राजनीतिक विषयलाई पनि समेटेको छ। हरिवंश आचार्य चलचित्रमा हरिबहादुर पात्रमा प्रस्तुत भएका छन्।
नेपाली टेलिभिजनको पर्दामा सर्वाधिक सफल यो पात्रको जीवनमा आउने उतारचढावको कथालाई चलचित्रको ट्रेलरमा समावेश गरिएको छ। त्यससँगै युवापुस्ताले खोजेको राजनीतिक परिवर्तन र त्यसबीचमा उत्पन्न हुने परिस्थितिलाई पनि ट्रेलरमा प्रस्तुत गरिएको छ।
दिपेन्द्र के. खनाल निर्देशित चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्र दशैँको फूलपाती (असोज १३) गतेबाट प्रदर्शनमा आउँदैछ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका छन्। कृष्ण बहादुर थापाले खिचेको चलचित्रलाई नकुल खड्काले सम्पादन गरेका छन्।
वसन्त सापकोटा, दिपक शर्मा र प्रकाश सपुतको संगीत रहेको चलचित्रमा आशिष अविरल, समिक्षा अधिकारी, मोहितबंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ।