गंगा सोनाम बनिन् नेपाल आइडल सिजन-६ को विजेता

गंगा सोनाम नेपाल आइडल सिजन–६ को विजेता भएकी छन् ।

ललितपुरमा भएको ‘ग्राण्ड फिनाले’मा उत्कृष्ट चार प्रतिस्पर्धीलाई पछि पार्दै सोनाम विजेता भएकी हुन्। विजेता सोनामले रु. २५ लाख नगद पुरस्कार प्राप्त गरेकी छन् ।

त्यसैगरी बविता थापामगर दोस्रो, दर्शना गान्धारी तेस्रो, अभिनय खाती चौथो र मिलन मानन्धर पाँचौँ भयो ।

विजेतालाई पुरस्कार वितरण गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विजेतालाई शुभेच्छा प्रकट गरे । ‘नेपाल आइडल नेपालको हिरो कार्यक्रम हो । यो प्रतियोगिता सुरु भए पछि नै अरु नयाँ नयाँ प्रतियोगिताहरू सुरु भएका छन् । नेपाल आइडल सधैँ हिरो कार्यक्रमका रूपमा रहनेछ’, उनले भने ।

२०८२ जेठ २ गतेदेखि सुरु भएको नेपाल आइडल सिजन–६ को मुख्य निर्णायकमा न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद रिजाल थिए । ग्राण्ड फिनालेको सुरुवातमा पहिलो प्रस्तुति बविता थापामगर, दोस्रो प्रस्तुति मिलन मानन्धर, तेस्रो प्रस्तुति गंगा सोनाम, चौथो प्रस्तुति दर्शना गान्धारी र पाँचौँ प्रस्तुति अभिनय खातीले प्रस्तुत गरेका थिए ।