विपिन र केकीको मुख्य भूमिकामा बन्ने चलचित्र ‘काजी’को शुभमुहूर्त

प्रसिद्ध निर्देशक लक्ष्मण रिजालको निर्देशनमा चलचित्र ‘काजी’ निर्माण हुने भएको छ । रिजालको निर्देशनमा बन्ने नयाँ सिनेमा ‘काजी’ को शुक्रबार दक्षिणकाली मन्दिरमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै शुभमुहूर्त गरिएको छ ।

शुभमुहूर्त सम्पन्न गरेपछि निर्माण टिम सिनेमा छायांकनका लागि स्याङ्जा प्रस्थान गरेको छ । निर्देशक रिजालका अनुसार सिनेमा आइतबार (भदौ ८ गते) बाट औपचारिक रूपमा छायांकन सुरु हुनेछ ।

रिजालले यसअघि ‘कसम’, ‘धुँवा यो नसा’, ‘अलविदा’ र ‘कायरा’ जस्ता सिनेमाहरू निर्देशन गरेका थिए । ‘डिसेम्बर फल्स’ र ‘गणपति’ सिनेमा निर्माणमा पनि उनी संलग्न थिए ।

‘काजी’मार्फत लामो समयपछि निर्देशनमा फर्कंदै गरेका रिजालले भने, ‘आफूले चाहेकोजस्तै स्क्रिप्ट पाएकाले यो सिनेमा गर्न राजी भएको हुँ ।’

रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण हुने ‘काजी’ लाई राम प्रसाद रिजालले निर्माण गर्दै छन् । उनले यस सिनेमामा अघिल्ला प्रोजेक्टमा भएका कमजोरी सच्याएर अझ उत्कृष्ट सिनेमा बनाउने प्रयास रहेको बताए।

स्याङ्जाको ग्रामीण परिवेशलाई जीवित रूपमा प्रस्तुत गर्न निर्माण पक्षले लाखौं रुपैयाँ खर्चेर गाउँको विशेष सेट निर्माण गरेको जानकारी दिएको छ ।

‘काजी’ सिनेमामा विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मा लगायतका चर्चित कलाकारको अभिनय रहनेछ । अन्य कलाकारको नाम निर्माण पक्षले क्रमशः सार्वजनिक गर्ने जनाएको छ ।

सिनेमाको लेखन प्रदीप भारद्धाजले गरेका छन् भने छायांकन चिन्तन राजभण्डारीले सम्हाल्नेछन् । गीत–संगीतको जिम्मा चर्चित संगीतकार कालिप्रसाद बास्कोटाले लिएका छन् ।