फ्राइडे रिलिज अन्तर्गत आज भदौ ६ गते शुक्रवारदेखि तीन नयाँ नेपाली फिल्महरु प्रदर्शनमा आएका छन् । आजदेखि देशका प्रायः सबै सिनेमा हलहरुमा ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’ तथा ‘ताराहरु’ प्रदर्शनमा आएका हुन् ।
सिनेमा हलहरुले दर्शकको रोजाइ तथा कलाकारहरुको सहभागिताका आधारमा तीन वटै फिल्मलाई समानूपातिक शैलीमा शोहरु उपलब्ध गराएको पाइएको छ ।
जसअनुसार सबैभन्दा बढी माग पाउन सफल भएको फिल्म बनेको छ ‘माग्ने राजा’ । ऋषि लामिछानेको निर्देशनमा बनेको यो फिल्मले देशभर करिव १ सय ५० शो पाएको छ । लोकप्रिय कलाकार केदार घिमिरे माग्ने बुढा० को मुख्य भूमिका रहेको यो फिल्ममा वर्षा सिवाकोटी, विल्सन विक्रम राई, शारदा गिरी, शिशिर वाङ्देललगायतको अभिनय छ भने आर्यन सिग्देल तथा उषा खड्गी विशेष भूमिकामा देखिएका छन् । आरम्भ प्रोडक्सनको ब्यानरमा बनेको फिल्मलाई अष्ट्रेलियाका २५ हलमा समेत एक सय शोका साथ रिलिज गरिएको छ ।
यसैगरी, विजय बराल, केकी अधिकारी तथा मिरुना मगर अभिनित फिल्म ‘जनै हराएको मान्छे’ ले करिव १ सय १० शो पाएको छ । भोलाराज सापकोटा, गौरव पहाडी, सुशांक मैनाली, भावना खपांगी मगरलगायत कलाकार समावेश यो फिल्मलाई कमल न्यौपाने तथा विमल न्यौपानेले निर्माण गरेका हुन् । थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत रहेको यो फिल्ममा नवीन गुरुङ डिओपी तथा कृष्ण परियार सिनेमेटोग्राफर छन् । कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक तथा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा तथा आकाश केसी सहायक निर्देशक रहेका छन् ।
त्यस्तै, आशान्त शर्माको निर्देशन तथा मुख्य भूमिकामा रहेको फिल्म ‘ताराहरू’ ले भने करिव ३० शोमात्र पाएको छ। मेनुका प्रधान, कुन्दुन शाक्य, आभास अधिकारी, मिरा खड्का लगायतको अभिनय रहेको यो फिल्मलाई वेज प्रालिको प्रस्तुतिमा निर्माण गरिएको हो । शरद महतोको छायांकन तथा विनोद पाण्डेको सम्पादन रहेको यो फिल्ममा विनोद पाण्डेले सम्पादन र अविनाश नापितले भिएफएक्स गरेका छन् ।
यसका साथै अहिले सिनेमा हलमा दुई साताअघि नै प्रदर्शनमा आएको पल शाह, बेनिशा हमाल तथा नीति शाह अभिनित नेपाली फिल्म मोहर पनि ५२ शोसहित प्रदर्शनरत छ ।