‘रैथाने घुमफिर २०८२’ नामक कन्सर्ट गर्दै झुमा लिम्बू

 गायिका झुमा लिम्बू एण्ड दि रैथाने व्यान्डले ‘रैथाने घुमफिर कन्सर्ट २०८२’ गर्ने भएकी छन्। कन्सर्ट फिल्म ‘जारी २’ को सहकार्यमा हुन लागेको हो। फिल्म आगामी असोज ३ मा प्रदर्शन हुँदैछ।

रैथाने घुमफिरमा झुमाले नेपालका विभिन्न १० सहरमा प्रस्तुति दिनेछिन्। जसमा उनको व्यान्डको शोलो प्रस्तुति रहनेछ। विभिन्न सहर र गाउँमा पुगेर स्थानीय लोकसंगीत हाक्पारे पालाम, च्याब्रुङ, घाँटु, सोरठी, देउडा, मारुनीलगायत संगीत र नृत्यलाई केन्द्रमा राखेर सांगीतिक प्रस्तुति दिइने गायिका लिम्बूले बताइन्।

कन्सर्ट भदौ २१ मा ठमेलस्थित एलओडी क्लबबाट सुरु गरिनेछ। पहिलो प्रस्तुतिमा ‘जारी २’ को टिमले च्याब्रुङ नाच समेत प्रस्तुत गर्ने बताइएको छ।

‘यो यात्राले संस्कृति र संगीतलाई नयाँ पुस्तामा पुर्याउने आशा लिएका छौं। ‘रैथाने घुमफिर’ले गाउँ र सहरको संगीत र संस्कृतिलाई जोड्न एउटा पुलको रूपमा उभिनेछ’ उनले भनिन्।

‘रैथाने घुमफिर’ यो वर्ष नेपालमा मात्रै आयोजना हुनेछ। अर्को वर्ष विदेशमासमेत लैजाने योजना रहेको गायिका लिम्बूले बताइन्।