सुनिता दुलालको नयाँ तीज गीत ‘चालिसे चुरा’ सार्वजनिक

 लोकगायिका सुनिता दुलालले यस वर्षको तीजका लागि नयाँ गीत ‘चालिसे चुरा’ सार्वजनिक गरेकी छन् । तीज गीतमै आफ्नो छुट्टै पहिचान बनाएकी उनी ‘तीज क्विन’को रूपमा परिचित छिन् ।

शम्भुजित बास्कोटाको संगीतमा तयार भएको गीतको शब्द चिरञ्जिवी भट्टले लेखेका हुन् । रंगीन र रमाइलो माहोलमा तयार पारिएको म्युजिक भिडियोमा अभिनेत्री एलिजा गौतम, शर्मिला मल्ल, हट्टी नट्टी, पुनम श्रेष्ठ, जयन सुब्बा मानन्धर र स्वयं गायिका दुलालको अभिनय देख्न सकिन्छ ।

तेञ्जु योञ्जनको निर्देशनमा बनेको भिडियो ‘सुनिता दुलाल यूट्युब च्यानल’मार्फत सार्वजनिक भएको छ । गीतबारे बोल्दै दुलालले यसपटकको तीज गीतमा सांस्कृतिक रंग, परम्परा र आधुनिक प्रस्तुतिको मिश्रण रहेको बताइन् ।

‘नबोल अरुसँग’, ‘पियारी’, ‘यो रमाइलो तिजैमा’, ‘यसपाली नि खाने दर’, ‘चुरा टिका लाली’, ‘इच्छा पुर्‍याइदेउ’ र ‘नाचौं सरर’ जस्ता हिट गीतमार्फत चर्चा कमाइसकेकी दुलालको यो नयाँ प्रस्तुति पनि दर्शकले मन पराउने उनले विश्वास व्यक्त गरिन् ।

तीज आउन अझै केही हप्ता बाँकी भए पनि सामाजिक सञ्जालहरू अहिले नै तीजमय भएका छन् । यतिबेला तीजलाई लक्षित गर्दै दर्जनौं गीत र भिडियोहरू सार्वजनिक भइरहेका छन्, जसमा ‘चालिसे चुरा’ले पनि दर्शकको ध्यान तानिरहेको छ ।