काठमाडौं । बलिउड चलचित्र ‘उचाई’ को छायांकन नेपालमा हुने भएको छ । करिब ४० दिनको छायांकनको तालिका लिएर निर्माण टोली नेपाल आउने भएको हो । अभिनेता अनुपम खेर, बमन इरानी, अभिनेत्री परिणिती चोपडा, निना गुप्ता लगायतका कलाकार नेपाल आउने जनाएको छ । अभिनेता अमिताभ बच्चनको समेत प्रमुख भूमिका रहेको पनि उनी नआउने भएका छन् । चलचित्रको छायांकन नेपालको हिमाली भेगमा हुने भएकाले उनी नआउने भएका हुन् । अभिनेता अमिताभ दमको बिरामी भएकाले चिसो ठाउँको छायांकनमा परिवारले नपठाउने निर्णय गरेको जनाइएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार सुरज बर्जत्यले निर्देशन गर्ने उक्त चलचित्रको टोली अक्टोबरमा नेपाल आउन लागेको हो । नेपालमा चलचित्रको व्यवस्थापन जिम्मा थ्रि ह्रिवलर्सले लिएको छ । सौर्य देनिकमा खबर छ । थ्रि ह्रिवलर्सका प्रमुख सुरज आचार्यले नेपालमा करिब ४० दिन छायांकन हुने जनाए । उनका अनुसार चलचित्रको छायांकन सगरमाथा आधारशिविर, लाङटाङ, मनाङ, मुस्ताङ लगायतका स्थानमा हुनेछ । मित्रता र परिवारको कथामा आधारित यस चलचित्रको बारेमा छलफल गर्न केही समयअघि निर्देशक बर्जत्य नेपाल आएका थिए । दुई साता नेपाल बसेर उनले फिल्ड अध्ययन गरेर मुम्बई फर्किएका थिए ।





