राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को पूरकतर्फको मौका परीक्षाको नतिजा सार्वजनिक गरेको छ । असोज ७ र ८ गते सञ्चालन भएको मौका परीक्षाको नतिजा बोर्डले आइतबार सार्वजनिक गरेको हो ।
बोर्डका अनुसार परीक्षामा सहभागी एक लाख ४ हजार २६ विद्यार्थीमध्ये ७६ हजार ३६७ जनाले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् । यसअनुसार ७३.४१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गरेका छन् । ४ परीक्षार्थीको भने परीक्षाफल रद्द गरिएको छ ।
९७१०१०७०, ९७१०११२८, ९७१०२७१६ र ९७१०४०९९ सिम्बोल नम्बर भएका परीक्षार्थीको नतिजा रद्द गरिएको बोर्डले जनाएको छ । बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइट र १६०० मा एसएमएस गरी नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ ।
एसएमएसबाट नतिजा थाहा पाउन नेपाल टेलिकमको सिम प्रयोगकर्ताहरूले ठूलो अक्षरमा एनइबी टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बोल नम्बर उल्लेख गरी १६०० मा पठाउनुपर्नेछ ।





