शिक्षक महासंघ आजबाट पुनः आन्दोलनमा, माग पुरा नभए सडकबाट नफर्कने

नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक २०८० मा आफ्ना मागहरू सम्बोधन नभएको भन्दै आज भदौ ९ गते सोमवारदेखि देशव्यापी आन्दोलन प्रारम्भ गरेको छ ।

महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले विधेयकले शिक्षकहरूको सेवा, सुविधा, स्थायित्व तथा अधिकारलाई कमजोर बनाएको आरोप लगाउँदै आन्दोलनमा उत्रिनुको विकल्प नरहेको बताएका छन् ।

गत वैशाखमा एक महिनासम्म चलेको आन्दोलनले ९ बुँदे सहमतिपछि निकास पाएको थियो, यद्यपि गत भदौ ६ गते प्रतिनिधिसभामा पेश भएको विधेयकमा ती सहमति कार्यान्वयन नभएकोले महासंघ पुनः आन्दोलनमा होमिएको अध्यक्ष सुवेदीले भनाइ छ ।

महासंघले आन्दोलनको पहिलो चरणमा भदौ ९ गते अर्थात आज सोमवार प्रधानमन्त्री, शिक्षा मन्त्री तथा विभिन्न राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण गराउने कार्यक्रम तय गरेको छ ।

यसैगरी, भदौ ११ गतेदेखि भदौ २० गतेसम्म राजनीतिक दलका केन्द्रीय कार्यालय, पालिका तथा जिल्लाहरूमा दुई घण्टे धर्ना दिने महासंघको तयारी छ । महासंघले आगामी भदौ २१ देखि दोस्रो चरणको कडा आन्दोलन गर्ने घोषणा गरिएको छ, जस अन्तर्गत धर्ना, अवरोध तथा विरोध प्रदर्शन हुनेछ ।

शिक्षकहरुको आन्दोलन विद्यार्थीको गुणस्तरीय शिक्षा तथा शिक्षकको सम्मानको लडाइँ भएकोले माग पूरा नभए हामी सडकबाट फर्कन नसकिने महासंघका अध्यक्ष सुवेदीको दावी छ ।