अस्ट्रेलियामा उच्च शिक्षा प्राप्त गर्ने सोच भएका नेपाली विद्यार्थीका लागि आगामी शुक्रबार काठमाडौंमा अस्ट्रेलियन एजुकेसन फेयर २०२५ आयोजना हुने भएको छ । ग्लोबल एजुकेसन सर्भिसेज प्रा. लि. (ग्लोबल रिच)को आयोजना तथा ३० भन्दा बढी अस्ट्रेलियन विश्वविद्यालयका प्रतिनिधिहरूको सहभागितामा मेला हुने भएको छ । मेला होटेल याक एन्ड यतिमा बिहान ११ देखि दिउँसो ४ बजेसम्म चल्नेछ ।
काठमाडौंमा सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक ग्लोबल रिचका हेड अफ अपरेसन्सु नारायण बजाजले विद्यार्थीहरूले मेलामा तीन हजारभन्दा बढी शैक्षिक कार्यक्रमबारे प्रत्यक्ष जानकारी लिन सक्ने बताए । मेलामा सय प्रतिशतसम्मका छात्रवृत्ति अवसरबारे मार्गदर्शन, व्यक्तिगत करियर तथा शैक्षिक परामर्श सेवाको सुविधा पनि विद्यार्थीले पाउने उनले बताए । मेला निःशुल्क रहनेछ भने दर्ता गर्ने विद्यार्थीलाई आईएलटीएस शुल्कमा ५० प्रतिशत छुट र विभिन्न उपहारको व्यवस्था गरिएको छ ।
ग्लोबल रिचका नेपाल अपरेसन को–अर्डिनेटर रितु बजाज गोयन्काले संस्थाले विश्वका पाँचभन्दा बढी विश्वविद्यालयको प्रतिनिधित्व गर्दै आएकाले पनि एजुकेसन फेयर अन्य शैक्षिक परामर्शदाताहरूले गर्ने शैक्षिक मेलाभन्दा फरक हुने बताइन् । ग्लोबल रिच हाल अस्ट्रेलिया, भारत, श्रीलंका, नेपाल, भुटान र बंगलादेशमा ४६ कार्यालयमार्फत सेवा दिइरहेको पनि उनले जनाइन् ।
आगामी शुक्रबार काठमाडौंमा फेयर गर्न लागेको ग्लोबल रिचले भदौ १ मा पोखरा, २ मा चितवन र ३ गते बुटवलमा पनि यस्तै प्रकारको शैक्षिक मेला आयोजना गर्ने जनाएको छ । यस्तै, विभिन्न जिल्लामा रहेका विद्यार्थीहरूमाझ सेवा प्रदान गर्ने उदेश्यसहित भदौ ५ मा बिर्तामोड र ६ गते ललितपुरको कुमारीपाटीमा पनि फेयर सञ्चालन हुनेछ ।
ग्लोबल एजुकेसन सर्भिसेसले विगत १७ वर्षदेखि शैक्षिक परामर्श सेवाका साथै करिअर परामर्श सेवा पनि प्रदान गर्दै आएको छ ।





