आईओई अन्तर्गतका इन्जिनियरिङ कार्यक्रमका लागि अनलाइन परीक्षा फाराम खुला

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तह (बी.ई./बी.आर्क.) का विभिन्न कार्यक्रमका लागि अनलाइन परीक्षा फाराम खुलाएको छ । संस्थान अन्तर्गतको परीक्षा नियन्त्रण महाशाखाले हालै एक सूचना प्रकाशित गरी आगामी भदौमा सञ्चालन हुने परीक्षाका लागि २२ साउनभित्र फाराम भरिसक्न विद्यार्थीहरूलाई सूचित गरेको हो ।

नयाँ पाठ्यक्रमअन्तर्गतका प्रथम र दोस्रो वर्ष दोस्रो खण्ड तथा पुरानो पाठ्यक्रमका तेस्रो, चौथो र पाँचौं वर्ष प्रथम खण्डका नियमित तथा आंशिक परीक्षार्थीहरूले परीक्षा फाराम भर्नुपर्नेछ । विद्यार्थीहरूले संस्थानको आधिकारिक वेबसाइट exam.ioe.edu.np मा रहेको ‘ब्याचलर लेभल लगइन’ मार्फत अनलाइन फाराम भर्न सक्नेछन् ।

फाराम भर्दा विद्यार्थीले आफ्नो अनलाइन पोर्टलमा हालसालै खिचिएको, सादा पृष्ठभूमि भएको र दुवै कान प्रस्ट देखिने पासपोर्ट साइजको फोटो तथा आफ्नो दस्तखत अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्ने छ ।

अनलाइन फाराम भरेपछि विद्यार्थीले तोकिएको परीक्षा शुल्क तिरेर त्यसको भौचर र पेमेन्ट कन्फर्मेसन स्लिपसहित सम्बन्धित क्याम्पसमा बुझाएर फाराम भेरिफाई गराउनुपर्नेछ । क्याम्पसहरूले फाराम प्राप्त भएको २४ घण्टाभित्र अनिवार्य रूपमा अप्रुभ गर्नुपर्नेछ ।

तोकिएको समय अर्थात् २२ साउनभित्र फाराम भर्न छुटाउने परीक्षार्थीहरूले विलम्ब शुल्क तिरेर २९ साउनसम्म फाराम भर्न सक्नेछन् । 

उक्त म्यादभित्र पनि फाराम भर्न छुटेमा विशेष व्यवस्थाअनुसार २ भदौ दिउँसो २ बजेसम्म महाशाखामा स्वयं उपस्थित भएर सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।

14a