याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ। चैत ८ गतेदेखि खुला गरिएको आवेदन अब २०८३ वैशाख ७ गतेसम्म दिन सकिने कम्पनीले जनाएको छ।
कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत बराबर २८ करोड रुपैयाँको २८ लाख कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो। यसमध्ये ७ करोड रुपैयाँ बराबरको ७ लाख कित्ता साधारण शेयर स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।
उक्त शेयरका लागि सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. १ देखि ७ सम्मका स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्।
आईपीओमा न्यूनतम १० कित्ता आवेदन दिनुपर्नेछ भने अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले सिन्धु विकास बैंक र कुमारी बैंक का जुगल गाउँपालिका शाखा तथा सिन्धु विकास बैंकको चौतारा शाखाबाट आवेदन दिन सक्नेछन्।
यसका साथै, इच्छुक स्थानीयले आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्ने व्यवस्था छ। आवेदन फाराम प्राप्त गर्न २ रुपैयाँ शुल्क लाग्नेछ।
आईपीओ निष्कासनअघि गरिएको रेटिङमा केयर रेटिङ्ग नेपाल ले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ दिएको छ, जसले दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।
कम्पनीले निर्माण गरिरहेको ७.२७ मेगावाट क्षमताको याम्बालिङ्ग खोला जलविद्युत् आयोजनाको कुल अनुमानित लागत १ अर्ब ८७ करोड ११ लाख रुपैयाँभन्दा बढी रहेको छ। प्रतिमेगावाट लागत करिब २५ करोड ७३ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ।
उक्त आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र अवधि अझै २५ वर्ष ६ महिना बाँकी छ। परियोजनाको साधारण लगानी फिर्ता अवधि १०.७६ वर्ष र छुट दरमा १९.८७ वर्ष रहेको छ।




