यो साता २.५३ अंक बढ्यो सेयर बजार, कुन समूह कति बढे ?

यो साता सेयर बजार ७३ अंक अर्थात् २.५३ प्रतिशत बढेको छ । गत साता २८७७ अंकमा बन्द भएको बजार यो साता २९५० अंकमा कायम भएको छ । यो साता पाँच दिन कारोबार भएकोमा चार दिन बजार बढ्यो भने एक दिन मात्रै घट्यो ।

आइतबार ५४.५१ अंक बढेको बजार सोमबार ५.०१ र मंगलबार २३.८३ अंक बढ्यो । बुधबार २४.४५ अंक घटेको बजार बिहीबार फेरि १४.२१ अंक बढ्यो ।

कारोबार रकम पछिल्ला दिनमा केही घट्दो देखिएको छ । यो साता आइतबार २३ अर्ब ५९ करोडको कारोबार भएकोमा सोमबार १५ अर्ब ७८ करोड, मंगलबार १४ अर्ब ८३ करोडको कारोबार भएकोमा बुधबार १५ अर्ब ९ करोड र बिहीबार १३ अर्ब १६ करोडको कारोबार भयो ।

यो साता व्यापार समूह सबैभन्दा धेरै ८.८८ प्रतिशत बढ्यो । यो समूहमा जम्मा दुई कम्पनी विशाल बजार र साल्ट ट्रेडिङ कम्पनी सूचीकृत छन् । सूचीकृतमध्येको विशाल बजार कम्पनी पूँजीकरणका आधारमा बजारकै सबैभन्दा ठूलो कम्पनी हो । उक्त कम्पनीको मूल्य उच्च दरले बढ्दा समग्र व्यापार सूचक उच्च दरले बढ्यो ।